-1736077549.jpg)
काठमाडौं । जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना घरधनी आफैँले हटाउँदै छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा ३५ दिने ‘अल्टिमेटम’ जारी गरेपछि स्थानीय आफैँले संरचना हटाइरहेका हुन् ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाले सडक सीमामा पर्ने घरटहरा सम्बन्धित धनी आफैँले हटाउन थालेका जानकारी दिए । “३५ दिने सूचना निकालेपछि उहाँहरूले आफैँ हटाउन थाल्नुभएको छ । कतिपय धनीहरूले दुई मिटर, चार मिटर मात्रै साइट क्लियर गर्नुपर्ने अवस्था छ,” उनले बाह्रखरीसित भने, “त्यसैले हटाउनुपर्ने यति नै छन् भन्ने छैन । सो क्षेत्रमा अटेर गर्नेहरू पनि छन । उहाँहरूलाई विभाग र महानगरले सुरुमै हटाउँदैन । अर्को सूचना निकालेर ध्यानाकर्षण गराउछौँ ।”
गएको वैशाख २९ गते मन्त्रालय र महानगरले ३५ दिने सूचना जारी गर्दै सडक सीमाभित्र पर्ने र नक्सापासबिना बनाइएका अवैध संरचना हटाउन भनिएको थियो । मन्त्रालय र महानगरले यसअघि सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सीमा कायम गरेर चिनो लगाई किला गाडेका थिए ।
सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा निर्मित अनधिकृत संरचना सूचना प्रकाशित मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन/भत्काउन सूचना जारी गरिएको थियो । कसैले त्यसको अटेर गरे कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ ।