site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान काठमाडौं आइपुग्यो
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय (आईसीई) को चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जनाएको हो । “अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू उक्त उडानमा रहेका थिए,” अमेरिकी दूतावासले जनाएको छ । 

अध्यागमन स्रोतका अनुसार, डिपोर्ट गरिएका नेपालीहरू विमानबाट उत्रने क्रममा छन् । करिब ४० जनाको हाराहारीमा नेपाली चार्टर्डविमान रहेको स्रोतले जनायो । यति ठूलो संख्यामा नेपालीलाई एकैपटक डिपोर्ट गरी अमेरिकाले पठाएको यो पहिलो टक हो । 

Argakhachi Cement Island Ad

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ । उनीहरू सबै नेपाल आइसकेका छन् । 

ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । 

प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ । 

ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । 

सन् २०२४ मा अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेन राष्ट्रपति हुँदा एक वर्षको अवधिमा जति संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । ट्रम्प राष्ट्रपति भएपछि झण्डै त्यतिनै संख्यामा नेपाली प्रत्येक महिना अमेरिकाबाट डिपोर्ट भएका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्