
काठमाडौं । नेपालमा यो वर्ष मनसुन औसत मितिभन्दा अगावै भित्रने सम्भावना प्रबल छ । देशमा मनसुन भित्रने अनुकूल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् ।
नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । यसपालि त्योभन्दा केही दिनअघि नै प्रवेश गर्न सक्ने सम्भावना मौसमविद्ले औँल्याएका छन् ।
सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयताकै सबैभन्दा चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।
यो वर्ष त्योभन्दा पनि छिटो मनसुन प्रवेशको सम्भावना छ । अर्थात्, अबका तीनदेखि पाँच दिनभित्रै नेपालमा मनसुन भित्रने सम्भावनालाई नकार्न नसकिने जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताए ।
“यो मनसुन अबको तीन दिनमा सिक्किम र पश्चिम बंगालमा पुग्छ,” उनले बाह्रखरीसित भने, “नर्मली अहिलेसम्मको हाम्रो अवस्था के हो भने, त्यहाँ पुग्यो भनेपछि कोसी प्रदेशमा एक/दुई दिनमा छोइहाल्छ ।”
तर, त्यसनिम्ति मनसुन हालकै गतिमा अघि बढ्नुपर्छ । नत्र त्यो सम्भव हुँदैन । “जेठको १८ (जुन १) भन्दा पनि अगाडि नै आउँछ कि ! ६ दिन पनि यसले कुर्छ कि कुर्दैन भन्ने देखिएको छ अहिलेको अवस्था हेर्दाखेरि,” उनले भने ।
उनले मनसुन प्रणालीको अवलोकन गरिरहेका छन् । मनसुन नेपाल भित्रने अनुकूल वातावरण बनिरहेको उनले बताए ।
“अबको तीन दिनमा सिलगुडी (पश्चिम बंगाल), हाम्रो मेचीपारि आयो भनेदेखि कोसीको केही भागमा छुन्छ,” उनले भने, “तीन दिनमा केसीको केही भागमा छुन्छ भनेपछि अबको एक हप्तामा कोसी प्रदेश यसले नाघ्ने सम्भावना छ, अहिलेकै गतिमा गयो भने ।”
उनले अगाडि भने, “अहिलेकै गतिमा गयो भने कोसी प्रदेश एक हप्तामा नाघेर यसले मधेस प्रदेशको केही भाग, त्यसपछि वाग्मती प्रदेशको केही भागमा जाने सम्भावना नकार्न सकिँदैन ।”
छिटो उत्पत्ति
उद्गमविन्दुमै मनसुन यसपालि छिटो उत्पत्ति भएको उनले बताए । “मनसुनको उद्गम भनेको माल्दिभ्सको तटीय क्षेत्र, श्रीलंकाको तटीय क्षेत्र, हिन्द महासागरमा जहाँ यसको उत्पत्ति हुन्छ, त्यहाँ नौ दिनअगाडि उत्पत्ति भयो,” उनले भने ।
उद्गमविन्दुमा मनसुन उत्पत्ति हुने औसत मिति मे २३ तारिख हो । यो वर्ष त्यहाँ मे १३ मै मनसुन उत्पत्ति भएको उनले प्रस्ट पारे । “त्यो एड्भान्स हुँदैहुँदै आउँदाखेरि केरलमा पनि औसतभन्दा आठ/नौ दिनअघि नै आयो,” उनले भने ।
त्यसपछि त्यसको विकास वा फैलने गति तीव्र भएको उनले बताए । र, औसत मितिभन्दा १६ दिनअगाडि नै भारतको महाराष्ट्रमा पुगेको उनले जानकारी दिए ।
“भारतको केरलमा पुगिसकेपछि यति स्पीडमा एड्भान्स भयो कि लगभगलगभग औसतभन्दा १६ दिनअगाडि नै महाराष्ट्रमा पुग्यो,” उनले भने, “र, ३५ वर्षको रेकर्ड ब्रेक गरेर महाराष्ट्रको मुम्बईमा पुग्यो आज (मे २६) ।”
बंगालको खाडी, भारत हुँदै मनसुन नेपालमा प्रवेश गर्छ । भारत, नेपालसहित दक्षिण एसियाली मुलुकमा यो मनसुनको प्रभाव रहन्छ । नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा पर्ने गरेको विभागले जनाएको छ ।
भारतमा पनि मनसुनको ठूलो प्रभाव हुन्छ । त्यहाँ त्यसको प्रभावले वर्षा हुन सुरु भइसकेको छ । भारतको मौसम विज्ञान विभागले मनसुन विस्तारबारे दैनिकजसो जानकारी गराइरहेको छ ।
भारतका असम, मेघालयमा मनसुन औसत मितिभन्दा १० दिनअगाडि नै पुगेको छ । “भारतको मौसम विज्ञान विभागका अनुसार र अहिलेको समुद्री गतिविधि हेर्दा यो मनसुन अबको तीन दिनमा सिक्किम र पश्चिम बंगालमा पुग्छ । त्यो हाम्रो कोसी प्रदेशमा जोडिएको छ ।”
नेपालमा यसपालि मनसुन प्रवेशमा रेकर्ड ब्रेक हुन सक्ने उनले सम्भावना औँल्याए । त्यसको गतिले यस्तै संकेत गरिरहेको उनले प्रस्ट पारे ।
उनले भने, “महाराष्ट्रमा यति चाँडो विकसित भएको, अरबसागर पनि सक्रिय र बे अफ बंगाल (बंगालको खाडी) सक्रिय भएको अवस्था हुनाले मनसुन यसपालि नेपालमा पनि त्यो रेकर्ड ब्रेक गर्दै अगाडि नै आउँछ कि !”
नेपालमा मनसुन हरेक वर्ष पूर्वबाट प्रवेश गर्छ । अर्थात्, यसको आगमन सुरुमा कोसी प्रदेशमा हुन्छ । त्यसपछि बिस्तारै मनसुनी वायु अन्यत्र पुग्छ । क्रमशः देशभर फैलन्छ ।
“सुदूरपश्चिमसम्म पुग्न त १० देखि १५ दिन नै लाग्छ,” उनले भने, “तर, कोसी प्रदेशमा पुग्नको लागि भने अबको तीनदेखि पाँच दिनमा पुग्छ कि भन्ने लाग्छ ।”
महाशाखा के भन्छ ?
जल तथ मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेशसम्बन्धी गतिविधिको विश्लेषण गरिरहेको छ । यस विषयमा आफूहरूले ‘मोनिटरिङ’ गरिरहेको विभागअन्तर्गतको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । “अहिले त त्यस्तो छैन । हामी मोनिटरिङ गर्दै छौँ,” उनले भने ।
मनसुन प्रवेशका निम्ति अनुकूल वातावरण बन्ने क्रममा रहेको उनले जानकारी दिए । आउँदा दिनमा स्पष्ट हुने उनले बताए । “क्राइट एरियाहरू केही मिट हुँदै छ, केही क्राइट एरिया मिट हुन बाँकी छ,” उनले भने, “८० प्रतिशतभन्दा बढी क्राइट एरिया मिट भएको अवस्थामा हामी मनसुन प्रवेश गरेको घोषणा गर्छौं ।”
गत वर्ष (०८१) औसत मितिभन्दा तीन दिनअघि अर्थात् जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । असोज २६ गते बाहिरिएको मनसुन पोहर साल नेपालमा १२५ दिन रहेको विभागको तथ्यांक छ ।
०८० मा मनसुन जेठ ३१ गते नेपाल प्रवेश गरेको थियो । र, असोज २८ गते बाहिरिँदा त्यो वर्ष मनसुन नेपालमा १२४ दिन रहेको थियो ।
०७९ मा मनसुन जेठ २२ गते नेपाल भित्रिएको थियो । त्यो वर्ष असोज ३० गते बाहिरिएको मनसुन नेपालमा १३२ दिन रहेको थियो ।
त्यसभन्दा अघि अर्थात् ०७८ मा मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । त्यो साल असोज २५ गते बाहिरिँदा मनसुन १२४ दिन नेपालमा रहेको थियो ।
“यो वर्ष सरदर मितिभन्दा अगाडि नै आउँछ कि भन्न भन्ने पनि छ । तर, यो अहिको अवस्था हो । मौसम भनेको परिवर्तन भइरहन्छ । ठ्याक्कै यस्तो नहुन सक्छ,” मौसमविद् लामिछानेले भने ।
सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको विभागको तथ्यांक छ ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो औसत मिति मात्र हो । योभन्दा अघिपछि पनि हुन सक्ने मौसमविद्ले बताउँदै आएका छन् ।
विभागले नेपालमा यसपालि मनसुनमा औसतभन्दा बढी वर्षाको आकलन गरेको छ । तापक्रम पनि औसतभन्दा बढी हुने अनुमान छ ।