site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनौतीका साथ भन्छु, कुनै अनुचित लाभ उठाएको छैन : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली योग तथा आयुर्वेद औषधि कम्पनीका लागि जग्गा हदबन्दी दिँदा आफूले कुनै अनुचित लाभ नलिएको बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ करोठ ५८ लाखभन्दा बढी बिगो कायम गरी नेपालसहित ९३ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको छ । रौटहटमा रहेका नेपालले मुद्दा दायर भएको समाचार सार्वजनिक भएलगत्तै मिडियासँग प्रतिक्रिया दिँदै आफूबाट भएको निर्णयमा कुनै गलत नियत नरहेको बताए । 

Argakhachi Cement Island Ad

“म चुनौतीका साथ भन्न चाहन्छु, मैले कसैबाट अनुचित लाभ उठाएको छैन, म राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामका विरुद्धमा रहन्छु,” नेपालले भने, “कसैबाट भएको छ भने उचित होइन भनेर उभिएको पनि छु ।” 

नेपालले अख्तियारले दर्ता गरेको आरोपपत्रमा के छ भन्ने त थाहा नभए पनि आफूले सरकारको नेतृत्वमा हुँदा मात्र नभएर बाहिर हुँदा पनि कुनै पनि मन्त्रीलाई यस्तो काम गर भनेर निर्देशन नदिएको बताए ।
 
“जहाँसम्म पतञ्जलीजस्तो संस्था छ । स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तिहरू रहेको संस्थामा अनुचित काम गर्ने कुरा मैले कल्पना पनि गरेको छैन,” नेपालले भने, “मैले अनुचित कुनै उद्देश्यका साथ केही पनि गरेको छैन । विधि कानुनमा के भयो/भएन त्यो सबै कानुनले हेर्ने कुरा हो ।”
 
विधिअनुसार आएको थियो कि थिएन, सबै निकायले राम्ररी हेरे हेरेनन्, मुख्य सचिवले कानुनी परामर्श गरे/गरेनन् त्यो पनि हेर्नुपर्ने उनको भनाइ थियो । हदबन्दी छुट दिँदा सरकारी जग्गा भने त्यहाँ नरहेको उनले बताए ।
 
“सरकारी जग्गा एक टुक्रा पनि दिने काम भएको छैन । निजी जग्गा हदभन्दा माथिको हो भन्ने कुरा आवश्यकताले हो भन्ने आएको छ,” नेपालले भने, “यदि विधिसम्मत भएको छैन भने त्यो जग्गा सबै फिर्ता लिन सकिन्छ ।”

उनले जग्गा दिँदाको नियत सकारात्मक राखेर आफूले निर्णय गरेको बताए । “नेपालमा योगको पनि प्रचारप्रसार होस्, आयुर्वेद औषधिहरूको उत्पादन होस् भन्ने पक्षमा भएको हुनाले हदबन्दी छुट दिइएको हो,” उनले भने, “योगसम्बन्धी असल नियतका साथ लाग्ने कुरामा मेरो साथ सहयोग रहन्छ । त्यसका निम्ति पनि नियम कानुन विधिको सम्मान र पालना हुनुपर्छ भन्ने पक्षको मान्छे हुँ म । जनतालाई नोक्सान भएको छ भने अनुचित कामलाइ छुट दिन सकिँदैन ।”

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्