site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली राजमार्ग चार दिन बन्द गरिने
फाइल तस्बिर ।

कालीकोट । कर्णाली राजमार्ग मर्मतका निम्ति चार दिन बन्द गरिने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्डमा आउँदो मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो । योसँगै कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकबाट सडक स्तरोन्नतिका निम्ति चार दिन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।

Argakhachi Cement Island Ad

“यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ,” उनले भने, “कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिनेछन् भने हुम्ला, बाजुरा र कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ ।”

सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका निम्ति सवारी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ । उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्