site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नाम्दुका दीपेन्द्र सिड्नीमा बिल्डर्स बने

सिड्नी । दोलखाको नाम्दुमा जन्मिएर काठमाडौंमा इन्जिनियरिङ गरेका दीपेन्द्र उप्रेतीले अस्ट्रेलियाको सिड्नीमा आएर बिल्डर्स बनिएला भन्ने सोचेका पनि थिएनन् । तर, भाग्यको सहारा र शिक्षाले उनलाई काठमाडौंमा मात्र सीमित राख्न सकेन । उनी अस्ट्रेलिया आइपुगे । आफ्नो कलालाई तिखार्दै यतिखेर सिड्नीको  प्रतिस्पर्धात्मक बजारमा भरपर्दो बिल्डर्सका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । 

अस्ट्रेलियामा नेपाली समाज बढेसँंगै सबैखाले पेसा र व्यापार, व्यवसायमा नेपालीको उपस्थिति देखिए पनि घर बनाउने र त्यसको रुपरेखा तयार पार्ने बिल्डर्समा भने भर्खरै मात्र नेपालीको प्रवेश भएको हो । 

डाक्टर, इन्जिनियर, एकाउन्टेन्ट अनि रियल स्टेटजस्ता पेसामा नेपालीको उपस्थिति उकालो लागिरहेका बेला निमार्ण कम्पनीका रूपमा पनि यतिबेला दीपेन्द्रजस्ता इन्जिनियरहरूको प्रवेशले सम्भावनाको नयाँ ढोका खोलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् १९८० मा दोलखाको नाम्दुमा जन्मिएका दप्पेन्द्रले ब्याचलर अफ इन्जिनियरिङ सकेर जियो टेक्निकल इन्जिनियरिङमा एमएससी गरेका थिए । काठमाडौंमा सम्भावनाको ढोका चियाउँदै हिँडेका उनले सन् २०१३ मा व्यवसायिक सिभिल इन्जिनियरिङ भिसामा अस्ट्रेलिया आउने मौकालाई चुकाएनन् । त्यसपछि उनको व्यवसायिक यात्रा सुरु भयो अस्ट्रेलियामा ।

नेपालमा पनि आइटेकको नेपाल प्रालीमा सडक विकासमा होमिएका दीपेन्द्रले यता आउँदा केही अनुभव बोकेर आएका थिए । छोराछोरीको भविष्य र मौकाको खोजीमा अरुजस्तै परदेश हिँडेका दीपेन्द्रले यता आएर पनि स्थापित हुन संघर्ष गर्नुपर्‍यो । व्यवसायिक इन्जिनियरको जागिरमा सिड्नी चक्कर लगाएका दीपेन्द्रले निमार्ण कम्पनीमा काम गरेर अनुभव बटुल्दै गए ।

सन् २०१८ मा बिल्डिङ कन्सट्रक्सन पाएपछि दीपेन्द्रले आफैँ किन नगर्ने भन्ने सोच बनाए र क्यालिभर बिल्र्डसको नाममा कम्पनी प्रारम्भ गरे । सुरुमा मिहिनेत र पसिनाको लगानीले रंग ल्याएपछि दीपेन्द्रले पेसागत व्यवसायमा विश्वास जित्न थाले । यतिबेला उनी सफल बिल्डर्सका रूपमा स्थापित छन् । सन् २०१९ देखि अहिलेसम्म आइपुग्दा दीपेन्द्रले एक सयभन्दा बढी घर निमार्ण गरेर ग्राहकलाई हस्तान्तरण गरिसकेका छन् । 

आफैँ पेसाले सिभिल इन्जिनियर भएका कारण उनी दिनरात मिहिनेत गर्छन् । निमार्णस्थलमा पुग्छन्, त्यसैले पनि उनले बनाएका घर ग्राहकको रोजाइमा परेका हुन् । विदेशी भूमिमा सबैखाले पेसा र व्यवसायमा नेपालीपन र नेपालीमनको उपस्थिति  आफैँमा गर्वलायक विषय पनि हुन् ।

सिड्नीको व्यस्त बजारमा नेपाली बोलेर आफ्ना पीडा बताउन सकिने डाक्टर र आफ्नै भाषामा घरको छानो र मानोको जोहो गर्न पाउनुलाई पनि एउटा ठूलो उपलब्धी मान्नुपर्छ । 

दीपेन्द्र भन्छन्, “क्यालिवर बिल्र्डसले आफूलाई विश्वासको जगमा टिकाउन चाहन्छ, प्रतिस्पर्धात्मक बजारमा इमानको जमान र ग्राहकको सन्तुष्टि हाम्रो एउटै उद्देश्य हो ।” 

अहिले पनि दीपेन्द्रका नेपालीलगायत विभिन्न समुदायका ग्राहक छन् । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्