
काठमाडौं । भारतमा बन्धक बनाइएका ३२ नेपाली नागरिकलाई मुक्त गरिएको छ । उत्तराखण्ड राज्यको श्यामपुरममा उनीहरूलाई बन्धक बनाइएको थियो । नेपाली दूतावासको उजुरीमा काशीपुर प्रहरीले बिहीबार (जुन १९) अबेर राति उनीहरूलाई मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
श्यामपुरमस्थित भाडाको घरमा बन्धक बनाइएका ३२ नेपालीमध्ये तीन नाबालिग हुन् । रकम असुल्न उनीहरूलाई बन्धक बनाइएको थियो ।
पहिले बन्धक बनाइएकालाई चक्कु र बन्दुक देखाएर भारतमा जागिर लगाइदिने प्रलोभनमा पारी अरू नागरिकलाई १० देखि ३० हजार भारु लिएर बोलाउन लगाइन्थ्यो । उनीहरू आएपछि रकम लिइन्थ्यो । र, उनीहरूलाई पनि बन्धक बनाइएको थियो ।
बिहीबार नेपाली दूतावासका प्रतिनिधि नवीन जोशीले रुद्रपुरस्थित ट्रान्जिट क्याम्प प्रहरी चौकीमा काशीपुरको अज्ञात स्थानमा केही नेपाली नागरिकलाई बन्धक बनाएर मानसिक तथा शारीरिक शोषण भइरहेको भन्दै उजुरी दिएका थिए ।
त्यसपछि काशीपुरको श्यामपुरमस्थित ओम विहार कोलोनीमा रहेको महाराज सिंह उर्फ पप्पुको घरमा छापा मारिएको थियो । त्यहाँ एउटा घरका तीन बन्द कोठामा ३२ नेपाली भेटिएका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
पीडितले ६ महिनाअघि आफूहरूलाई जागिरको प्रलोभनमा पारी भारत पुर्याइएको बताएका छन् । जागिरको आश्वासन दिएर उनीहरूसँग १० देखि ३० हजार भारु असुल गरिएको थियो । आफूहरूलाई घर फर्कन नदिइएको बन्धकले बताएका छन् । त्यसबारे कसैलाई जानकारी दिने मौका पनि नदिइएको जनाइएको छ ।
उनीहरूलाई खाना खुवाइएको थियो । र, भाडाको घरमा थुनेर राखिएको थियो । घटनाका दुई आरोपित हाल फरार छन् ।
एसआई महेश काण्डपालले ती नेपाली नागरिकलाई परामर्श दिई नेपाली दूतावासका प्रतिनिधि जोशीको जिम्मा लगाइएको बताए । भारतीय प्रहरीले आरोपितविरुद्ध मुद्दा दर्ता गरेको छ ।