
काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४, वरुण खोलामा कोसी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दोलखामा पनि सडक अवरुद्ध छ । आइतबार (असार ८) बिहान करिब साढे ६ बजे तामाकोसी गाउँपालिका–५, खिम्तीमा चरिकोट–मन्थली सडकखण्ड अवरुद्ध भएको हो । शनिबार (असार ७) रातिको अविरल वर्षापछि पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध र खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
यता, बीपी राजमार्ग रातिको समयमा १५ दिन बन्द गरिएको छ । यही असार ६ देखि २० गतेसम्मका निम्ति सडक राति बन्द गरिएको हो । यो अवधिमा हरेक दिन बेलुका साढे ६ देखि भोलिपल्ट बिहान ५ बजेसम्म बीपी राजमार्गमा सबै सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार (असार ७)देखि अर्को सूचना जारी नगरुन्जेलसम्म ठूला र भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नारायणघाट–बुटवल सडकखण्डको दुम्कीबास–दाउन्ने क्षेत्रमा साँझ ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।