
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका एक प्रमुख सल्लाहकारले अमेरिकी नौसेनाका जहाजमा मिसाइल आक्रमण र तेल ढुवानीको प्रमुख मार्ग होर्मुज स्ट्रेट बन्द गर्न आह्वान गरेका छन् ।
“अमेरिकाले फोर्डो आणविक केन्द्रमाथि आक्रमणपछि अब हाम्रो पालो आएको छ,” कट्टरपन्थी कायहान समाचारपत्रका प्रधानसम्पादक होसेन शरियतमदारीले यस्तो चेतावनी दिएका सीएनएनले जनाएको छ ।
एक प्रख्यात रूढिवादी होसेन शरियतमदारीले आफूलाई सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतिनिधि बताउने गरेका छन् । कायहान सञ्चारमाध्यमको टेलिग्राम सन्देशमा शरियतमदारीलाई उद्धृत गर्दै भनिएको छ, “कुनै ढिलाइ नगरी पहिलो कदमका रूपमा हामीले बहराइनमा आधारित अमेरिकी नौसैनिक फ्लीटमाथि मिसाइल आक्रमण सुरु गर्नुपर्छ र एकैसाथ अमेरिकी, बेलायती, जर्मन र फ्रान्सेली ढुवानीका निम्ति होर्मुज स्ट्रेट बन्द गर्नुपर्छ ।”
अमेरिकाले इरानको आणविक केन्द्रमाथि गरेको आक्रमणका बारेमा खामेनीबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
अमेरिकाले इरानका फोर्डो, इस्फहान र नटान्ज आणविक केन्द्रमा आक्रमण गरेको हो । यसपछि इजरायलले इरानमा आफ्नो हवाई आक्रमण जारी राख्ने/नराख्ने स्पष्ट भएको छैन ।
इजरायली अधिकारीले इरानको आणविक कार्यक्रमलाई समाप्त गर्नु आफ्नो बमबारी अभियानको प्राथमिक लक्ष्य भएको बताएका छन् । तर, इरानी शासनलाई सत्ताबाट हटाउने लक्ष्य राखेको पनि उनीहरूले बताउँदै आएका छन् ।