आफ्नो ज्यानको बाजी लगाएर अरूको जीवन बचाउनेहरू साँच्चैको सम्मान र सराहनाका पात्र हुन् । पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा पर्ने विनयी खोलामा आएको बाढीले बगाएको बसका यात्रुहरूलाई सकुशल उद्धार गर्ने सशस्त्र प्रहरी बलको उद्धार टोली यस्तै प्रशंसा र पुरस्कारका पात्र भएका छन् ।
काठमाडौंबाट नेपालगन्ज गएको रात्री बसलाई विनयी खोला तर्न खोज्दा बिहीवार राति बाढीले बगायो । बाढी आउँदाआउँदै चालकले डाइभर्सनबाट पार गर्न खोज्दा फसेको बसमा ३ शिशुसहित ३८ यात्रुसवार थिए । सशस्त्रको टोलीले यात्रुहरूलाई उद्धार गरेको १० मिनेटपछि खोलाले बस पल्टाएर बगायो ।
अर्थात्, सशस्त्र प्रहरी बलको उद्धार टोलीले अकल्पनीय क्षति हुनबाट जोगाए । हुनत, ती सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालन गरेकामात्रै हुन् पनि भन्न सकिएला तर तिनले केही समयमात्रै पनि ढिलो गरेका भए के हुन्थ्यो होला भन्ने कल्पनामात्रले पनि सिरिङ्ग हुन्छ ।
गत वर्ष चितवनको सिमलतालमा र धादिङको झ्याप्ले खोलामा भएका दुर्घटनाको स्मरण गर्ने हो भने विनयी खोलामा भएको उद्धार कार्यको महत्त्व राम्ररी बुझिन्छ । सम्बन्धित प्रहरी प्रशासनको हेलचेक्य्राइँसमेत कारण चितवन र धादिङको दुर्घटनामा अकल्पनीय क्षति भएको थियो ।
यसैले पनि विनयी खोलाका उद्धारकर्मीहरूको कर्तव्यपरायणता उदाहरणीय बनेको हो । राम्रो काम गर्दा समाज र राज्यले स्याबासी दिए कर्तव्यप्रतिको समर्पण बढ्छ भने अरूलाई पनि प्रेरणा हुन्छ । यसर्थ, नागरिकको जनधन जोगाउन आफूलाई जोखिममा होम्ने सुरक्षाकर्मीहरूको सराहना गर्न हिचकिचाउन हुँदैन ।
उद्धार गरिएका यात्रुहरूले त ती बहादुर उद्धारकर्मीहरूको गुन बाँचुन्जेल बिर्सँदैनन् होला । बिर्सनु पनि हुँदैन । राज्य र समाजले पनि तिनको उचित सम्मान र सराहना गर्न बिर्सनु हुँदैन । साथै, सरकारले गत वर्षका त्रुटिहरू नदोहोरिउन् भन्नेमा ध्यान दिनु उचित हुनेछ ।
ढिलो भए पनि गन्तव्यसम्म सुरक्षित पुगेमात्र यात्रा सफल हुन्छ । बर्खाको याममा नेपालका सडकहरूमा बाढी र पहिरोको जोखिम बढी नै हुने हुनाले यात्रुको सुरक्षाका लागि विशेष व्यवस्था गर्न विनयी खोला दुर्घटनाले हेक्का दिलाएको छ । सरकारले तत्काल ध्यान देओस् ।
बर्खाका कारण बाढी पहिरोको प्रकोपको जोखिम रहुन्जेल राति जोखिमपूर्ण खण्डहरूमा सवारी सञ्चालन गर्न निषेध गर्नेदेखि सडकको अवस्थाको नियमित जाँच अभ्यास पनि सुरु गरिनु उचित हुनेछ । सामान्य सावधानीले ठूला दुर्घटना टार्न सकिन्छ भने किन हेलचेक्य्राइँ गर्ने रु
विनयी खोला दुर्घटनामा साहस र वीरता देखाएर बाढीमा फसेका बसका यात्रुहरूको सकुशल उद्धार गर्ने सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई सलाम ! यस्ता सपुतहरू पनि देशमा छन् र त राष्ट्र सुरक्षित रहेको छ ।