
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर दिएको अभिव्यक्ति पार्टी अध्यक्षको रूपमा दिइएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको भूमिका फोरमअनुसार फरक हुने बताए ।
“प्रधानमन्त्रीका रूपमा राज्यका नीति बोल्नुहुन्छ । अध्यक्षको रूपमा पार्टी नीति बोल्नुहुन्छ,” उनले भने, “पार्टीका आन्तरिक भेलामा पार्टीका नीतिको बहस हुने गर्छ । राज्यका फोरममा सरकारका नीति बोल्नुपर्छ । संयुक्त सरकारमा छौँ, पार्टीका नीति र सरकारको नीति फरक हुन्छ नै ।”
पार्टीको कार्यक्रममा राजावादीहरूको आन्दोलनलक्षित गर्दै ओलीले जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भनि दिएको अभिव्यक्ति निकै आलोचित बनिरहेको छ । एमालेले गणतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा कार्यक्रम गर्दै छ ।