
कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले प्रदेशसभामा कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ टेबुल गरेका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बिहीबार बसेको १६औँ बैठकमा सभामुख नन्दा गुरुङले दुवै विधेयक सभासमक्ष टेबुल गर्न समय दिएकी थिइन् । त्योसँगै मन्त्री शाहले कर्णाली प्रदेश नियमावली २०८१ को नियम १३७ को उपनियम (२) बमोजिम सरकारको आगामी आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट कर्णाली प्रदेश आर्थिक तथा विनियोजन विधेयक, २०८२ सभासमक्ष टेबुल गरेका हुन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले कर्णालीको प्रतिपक्षी गरिबी, भोकमरी, अशिक्षा र भ्रष्टाचार भएकाले यसका विरुद्ध लड्न सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा हुनेगरी बजेट तथा कार्यक्रम प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री यामलाल कँडेलले सरकारले प्रतिपक्षीले पनि अपनत्व गर्नेगरी बजेट ल्याएको र भएका त्रुटि सुधार हुने प्रतिबद्धता व्यक्त गरे । रासस