
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद् परिसरभन्दा बाहिर नै ननिस्किएको र तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता गरेको स्मरण गराए । "उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एउटै होइन," उनले भने ।
उनले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा नेपाली कांग्रेसले बचाउ मात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फ समेत ध्यान नदिएको आरोप लगाए । सम्बन्धित निकायमा दर्ता समेत नभएको पत्रका विषयमा रास्वपा छानबिनमा सघाउन तयार भए पनि भिजिट भिसा प्रकरणमा कांग्रेसले त्यसो गर्न समेत नचाहेको उनको भनाइ छ ।
उपसभामुख बनेसँगै साधारण सदस्य समेत नरहने व्यवस्था भए पनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गराए ।