
काठमाडौ । काठमाडौंको बलम्बुमा निर्माण भइरहेको ‘फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेको छ ।
बलम्बु–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा निर्माणधीन फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ ।
निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउन बलम्बुमा फ्लाईओभर निर्माण गरिएको हो । दुई लेनको सो फ्लाईओभरको कुल लम्बाइ १२८ मिटर छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन फ्लाईओभरको निरीक्षण गरेका थिए । त्यसक्रममा उनले फ्लाईओभर निर्माण पूरा भएपछि काठमाडौ भित्रिने र बाहिरिने सवारीसाधनको जाम हुने अवस्थाको अन्त्य हुने बताएका थिए ।
त्यस्तै बलम्बु–सिस्नेखोला सुरुङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ । सोही मोडालिटीअनुसार सुरुङबाट सवारीसाधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ । हिमालयन टेलिभ्वाइस