site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
... अनि तानिएका थिए छानबिनमा रवि, कहाँ–कहाँ छन् मुद्दा ?
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केही समय अब थुनामै रहने भएका छन् । सर्वोच्च अदालतले पनि उनलाई शुक्रबार रिहा गर्न अस्वीकार गर्दै उच्च अदालतको आदेशलाई सदर गरेको हो ।
अब लामिछानेविरुद्ध लागेको अभियोगका सम्बन्धमा थुनामै रहेर मुद्दा लड्नुपर्ने हुन्छ ।

लामिछानेविरुद्ध गत कात्तिकदेखि सहकारी ठगी अभियोगमा औपचारिकरुपमा अनुसन्धान सुरु भएको थियो ।  त्यसयता उनीमाथि पाँचवटा सहकारी ठगीमा अनुसन्धान भएको हो ।  उनी सहकारी ठगीमा संलग्न छन् भन्ने दाबीसहित सरकारले पाँच सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढाएको थियो । 

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम र चितवनको साहारा सहकारी ठगी विरुद्धको मुद्दा दायर भइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्की जिल्ला अदालतको आदेशमा सूर्यदर्शन ठगी मुद्दामा ६५ लाख, सुप्रिम ठगीमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड, काठमाडौं जिल्ला अदालतको आदेशमा स्वर्णलक्ष्मी ठगी मुद्दामा ६० लाख र चितवन जिल्ला अदालतको आदेशमा ५४ लाख धरौटी जमानीमा लामिछाने छुटेका थिए । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी ठगीको भने अभियोजन नै भएको छैन । 

यी सबै मुद्दामा रविले चारै उच्च अदालतमा ७३ नम्बर निवेदन दिएका छन् ।  त्यसमध्ये साधारण तारेख मागेर दिएको निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाइसकेको छ । 

गत चैत २२ गते उच्चले गरेको फैसला उपर ७३ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका रविको मुद्दामा सुनुवाइ नसकिँदै वैशाख ७ मा श्रीमती निकिता पौडेल लामिछानेले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्चमा सुनुवाइ सुरु भएको थियो ।

तर पटक पटक ‘हेर्न नमिल्ने’ भएपछि पेसी सरेको सर्‍यै थियो । सात पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । त्यसपछि हेर्न मिल्ने इजलास तोकेर सुनुवाई प्रक्रिया मंगलबारदेखि अघि बढेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतको ६५ लाख धरौटीको आदेश बदरको माग गरेर पनि रविले ७३ नम्बर निवेदन लिएर उच्च अदालत पोखरा गएका छन् । 

उक्त निवेदनमा गत बिहिबार (जेठ १ गते) देखि मुख्य न्यायाधीशसहितको इजलासले हेर्दा हेर्दैमा राखेर सुनुवाइ अघि बढाएपछि थुनामा रहेका प्रतिवादीलाई जानकारी नदिएको भन्दै रविका वकिलहरुले विरोध जनाए । 

इजलासबाट जानकारी दिनेसहितको आदेश गर्दै पुनः आइतबार सुनुवाइ भए पनि स्थगित भएको छ । उच्च अदालत प्रशासनले मुद्दा स्थगनको सूचना दिने तर, पेसी थाहा भएन भन्ने दोहोरो चरित्र रवि पक्षले देखाएको बताएको छ । 

तर, रविका वकिलहरुले भने प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाइ अघि बढाएको आरोप अदालतमाथि लगाएका छन् ।  रास्वपाका नेताहरूले सामाजिक  सञ्जालमार्फत् पनि उच्च अदालतको सुनुवाइमा प्रश्न उठाएका थिए ।  

स्वर्णिम सहकारीमा ६० लाख धरौटी हुने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।  यस्तै चितवनको साहारा चितवन सहकारी ठगी मुद्दामा भएको ५४ लाख धरौटीको आदेशविरुद्ध पनि उनले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका छन् । 

सरकारले दायर गरेको चारवटा जिल्लाको मुद्दामा उनीसहितले गरेको आदेश बदरमाग गरिएका निवेदनले आठ स्थानमा उनको मुद्दा पुगेका छन् ।  यसबाहेक रविविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोग गरेको, सहकारी ठगीमा छानबिन रोक्न महान्यायाधिवक्तालाई दुरुपयोग गरेको विरुद्धसहितका मुद्दा विचाराधीन नै छन् । 

पछिल्लो पटक रवि सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहँदा आन्दोलन गरेको र अदालतविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाका सभापति रवि लामिछाने बाहेकका २० जनाविरुद्धसमेत अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्चमै विचाराधीन छ । 

यसरी तानिएका थिए ‘सहकारी ठगी छानबिनमा’ रवि 

लामिछाने गृहमन्त्री हुँदै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले छानबिन माग गरेको थियो ।  फागुन २१ मा दोस्रो पटक गृहमन्त्री बनेका लामिछानेले संसदीय छानबिन अस्वीकार गर्दै ‘आरोपका भरमा संसदीय छानबिन हुन नसक्ने’ मत राख्दै आएका थिए । 

लामिछानेले आरोपकै भरमा संसदीय समिति गठन गर्ने हो भने कांग्रेस सांसदहरू गगन थापा, धनराज गुरुङसहित धेरै जनामाथि संसदीय छानबिन गर्नुपर्ने अडान राखेपछि थप विवादमा तानिएका थिए ।  त्यसअघि नै तत्कालीन सत्तापक्षमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि निर्दोष रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त रवि निर्दोष रहेको दाबी गर्दै ‘संसदीय समिति नबन्ने’ घोषणा संसद्को रोष्ट्रमबाटै गरेका थिए ।  त्यस बीचमा लामिछाने निर्दोष रहेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि गरिदिएका थिए । 

त्यतिमात्र नभएर तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध सहकारी ठगीमा कुनै अभियोग नरहेको भन्दै ‘क्लिन चिट’ दिएपछि रविविरुद्ध सर्वोच्चमै मुद्दा पुगेको हो ।  यी सबै प्रकरणसँगै असार १७ मा शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच सात बुँदे सहमति भएपछि असार ३१ मा ओली प्रधानमन्त्री बने । 

त्यसबीचमा छानबिन गरिरहेको सहकारी छानबिन समितिले भदौ ३१ मा प्रतिवेदन बुझायो । संघीय संसद्ले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्णय गर्‍यो । रवि लामिछानेविरुद्ध गत ०८१ माघमै सूर्यदर्शन सहकारी ठगीमा छानबिन माग गर्दै पुरक जाहेरी परिसकेको थियो । 

उक्त जाहेरीपछि जिल्ला प्रहरी र सीआईबीलेसमेत छानबिन गरेर थन्किएको फाइल पुनः खुलेको हो ।  त्यही क्रम चल्दै जाँदा सहकारी ठगीमा संलग्न रहेको प्रहरी निस्कर्षपछि रविलाई कात्तिक २ गते शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइएको थियो । उनलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्