site stats
बाह्रखरी :: Baahrakhari
कला
दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशन फागुनमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशन फागुनमा हुने भएको छ ।

प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापाले जानकारी दिइन् ।

थापाका अनुसार बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका उप–महासचिव शिरीष देवकोटाका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको प्रतिष्ठानको प्रेस नोटमा उल्लेख छ । 

प्रतिष्ठानको सदस्यता डिजिटल प्रणालीबाट वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको अध्यक्ष थापाले जानकारी दिइन् । 
महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान तोक्न बाँकी छ ।

यसअघिको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष समेत हुन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा छन् ।

प्रतिष्ठानमा करिब ३० हजार  सदस्य र तीन हजार आजीवन सदस्य छन् ।

जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको एक सयभन्दा बढी शाखा समिति छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्