site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्री कुमारी क्लब रेलिगेसनबाट जोगियो
फाइल तस्बिर ।

काठमाडौं । श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सरस्वती युथ क्लबलाई २–० ले पराजित गर्दै कुमारी छैटौँ स्थानमा उक्लिएसँगै रेलिगेसनबाट जोगिएको हो ।

जितबाट तीन अंक जोड्दै श्री कुमारीले तालिकामा १६ अंक बनाएको छ । छैटौँ स्थानमा उक्लिएको कुमारीले पाँचौँ जित निकाल्दै १२ खेलमा पाँच जित, एक बराबरी र ६ हारबाट १६ अंक जोडेको हो । यो नतिजासँगै टोलीले रेलिगेसन क्षेत्रमा रहेको श्री टुसाल युवा क्लबसँग पाँच अंकको दुरी कायम गरेको छ ।

अब कुमारीले लिगको अन्तिम खेल रानीपोखरी कर्नर टिम (आरसीटी)सँग खेल्नेछ । यो खेलमा टोली पराजित भए पनि रेलिगेसनबाट सुरक्षित छ ।

पराजित सरस्वती भने नवौँ स्थानमा झरेको छ । सरस्वती सातौँ हार व्यहोर्दै १२ खेलमा पाँच जित र सात हारबाट १५ अंकमा सीमित छ ।

सोमबार श्री कुमारीको जितमा यमन महर्जन र मौसम राईले एक गोल गरे । खेलको ४४औँ मिनेटमा यमनले टोलीलाई अग्रता दिलाए । ९०औँ मिनेटमा मौसमले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्