
घोडाघोडी (कैलाली) । निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४, भगवानपुरका एक युवकको मृत्यु भएको छ । २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुंगे पुल निर्माणका लागि कामदारका रूपमा आएका थारु सात फिट तल खसेका थिए । अवस्थीका अनुसार, आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए । सोही क्रममा उनी पुलबाट खसेको अनुमान गरिएको छ । सोमबार बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए । रासस