
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका राजदूतको उपस्थिति थियो । सो भेटमा विभिन्न मुलुकका काठमाडौंस्थित राजदूत र भारतको नयाँदिल्लीस्थित गैरआवासीय राजदूत सहभागी थिए ।
यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूत एकैपटक नेपाल आएका हुन् ।
भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।
उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि लगानी विस्तार गर्न आग्रह गरे ।
जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको उनले स्पष्ट गरे ।
सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने उनले स्पष्ट गरे ।
सगरमाथा संवादको पहिलो शृंखलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले हिमालदेखि समुुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृंखलाको निरन्तरता हुने जनाए ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास प्रधानमन्त्री ओलीले गरे ।
भेटमा युरोपियन युनियनका राजदूतहरुले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए ।
उनीहरूले नेपालले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए ।
राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।