
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनमा आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँदिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन् । सोमबार मन्त्रालयमा भएको सो भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरूको सम्बन्धका विविध विषयहरूका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरूले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै, उनले नेपाल सरकारले हालै सम्पन्न गरेको सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरूका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
मन्त्री डा. राणाले पछिल्लो समयमा नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रूपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रूपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी थिइन् ।
मन्त्री डा. राणाले सो शिष्टाचार भेटका क्रममा युरोपियन युनियनका सदस्य राष्ट्रहरूसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि पनि आग्रह गरिन् ।
नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि मन्त्री डा. राणाले युरोपियन युनियन आबद्ध राजदूतहरूमार्फत् युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी थिइन् ।
सो शिष्टाचार भेटमा काठमाडौं र नयाँदिल्लीस्थित युरोपियन युनियन र आबद्ध सदस्य राष्ट्रका २० मिसन प्रमुख एवं राजदूत सहभागी थिए ।