site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगामी निर्वाचनमा एमालेको एकल बहुमत असम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी ०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतया कुनै एक दलको बहुमत आउन गाह्रो भए पनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको उनले दाबी गरे । 

संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्ने गरी तयारी गर्नुपर्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्न अत्यावश्यक भएको जिकिर गरे । 

एमालेले व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेको उनको भनाइ छ । 

जनतामा आफूहरूविरुद्ध विपक्षीहरूले भ्रम फिँजाउन खोजेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो भ्रम चिर्न सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि उनले आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्