site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकै वर्षमा १२ देशसँग कूटनीतिक सम्बन्ध विस्तार, १५६ देशसँग जोडियो नेपालको सम्बन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । अंग्रेजी वर्ष सन् २०१७ मा नेपालले विश्वसँगको आफ्नो साइनोलाई इतिहासमै धेरै देशसँग विस्तार गरेको छ । एकै वर्षमा १२ देशसँग सम्बन्ध विस्तार गरेर नेपालले २०१७ मा कूटनीतिक सम्बन्ध विस्तारका क्षेत्रमा नयाँ इतिहास बनाएको हो । नेपालले गएको एक वर्षमा अफ्रिकी तथा युरोपियन मुलुकका अधिकांश भूपेरिवेष्ठित तथा असंलग्न राष्ट्रहरूसँग सम्बन्ध स्थापना गरेको छ । 

अब नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १ सय ५६ पुगेको छ । सन् १८१६ मा संयुक्त अधिराज्य बेलायतबाट सुरु भएको नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध २०१७ को अन्त्यसम्ममा विस्तार हुँदै अफ्रिकी मुलुक बुर्किनाफासोसम्म पुगेको छ ।  

२०१७ मा भएका कूटनीतिक सम्बन्ध

Prabhu Bank
Agni Group
NIC Asia

जुन १२– १४५ औं देश युगान्डा 
युगान्डा एउटा अफ्रिकी मुलुक हो, जसको आधिकारिक नाम गणतन्त्र युगान्डा रहेको छ । युगान्डा पनि नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो, जुन दक्षिणपूर्वी अफ्रिकामा रहेको छ । यसको पूर्वमा केन्या, उत्तरमा उत्तरी सुडान, दक्षिणपश्चिममा रुवान्डा तथा दक्षिणमा तान्जानिया रहेको छ । 

जुन १६– १४६ औं देश कोट द आइभोर (आइभोरी कोष्ट) 
आइभरी कोष्ट अर्थात् कोट द आइभोरका नामले चिनिने यो देश दक्षिण पश्चिम अफ्रिकामा अबस्थित छ । लाइबेरीया, गीनी, माली बुर्किनाफासो तथा घाना यसका छिमेकी देश हुन् । १९८६ मा यो देशको नाम आइभरी कोष्टबाट कोट द आइभोर (कोर्ट डी भ्वा) राखिएको थियो । नेपालजस्तै यो देश पनि कृषिप्रधान रहेको छ भने सांस्कृतिक रुपले पनि उत्तिकै सम्पन्न मानिन्छ ।

Global Ime bank

जुलाई १४– १४७ औं देश रिपब्लिक अफ जेबुडी
अफ्रिकी मुकुक जेबुडी उत्तरमा इराट्रीया, दक्षिणपश्चिममा इथियोपिया र उत्तरदक्षिणमा सोमालीयासँग जोडिएको छ । यसको बाँकी सिमा लाल सागर र एडन खाडीले छुट्याएको छ । अरबी र फ्रेन्च यहाँका प्रमुख भाषा हुन् । जेबुडी पनि नेपालजस्तै बहुजातिय देश हो । नेपालमा हिन्दू धर्माबलम्बीको बाहुल्यता भएजस्तै जेबुडीमा मुस्लिम बाहुल्यता रहेको छ ।  

जुलाई २५– १४८ औं देश एन्टीगुआ र बर्मुडा 
एन्टीगुआ र बर्मुडा नामका दुई ठूला टापूको नामबाट बनेको यो देशमा अन्य स साना धेरै टापू पनि रहेका छन् । उत्तर अमेरीकी देश एन्टीगुआ र बर्मुडामा अधिकांश काला जातीको बसोबास रहेको छ । २०१७ मा यहाँको कुल गार्हस्थ्य उत्पादन २.३७२ अर्ब अमेरीकी डलर आंकलन गरिएको थियो । 

अगस्ट ३– १४९ औं देश काबो भर्डे 
प्राकृतिक श्रोतहरुमा गरिब तर राजनीतिक स्थायीत्वको हिसाबले राम्रो देश मानिने काबो भर्डे अफ्रिकाको उत्तरश्चिम किनारमा अवस्थित रहेको छ । यो देश यहाँको पोर्चुगीज– अफ्रिकन संस्कृति तथा आकर्षक समुन्द्री किनारको लागि चर्चित मानिन्छ । यहाँको सबैभन्दा ठूलो टापू सान्टियागोमा देशको राजधानी अवस्थित छ । 

अगस्ट १७– १५० औं देश लाइबेरीया 
लाइबेरीया सियरालिअन, गिनी, कोट द आइभोरसँग जोडिएको पश्चिम अफ्रिकी देश हो । यो देश २६ जुलाई १८४७ मा संयुक्त राज्य अमेरीकाबाट स्वतन्त्र भएको थियो । सन् १९८० मा सेनाले राष्ट्रपति विलीयम आर टालवोर्टलाई पदबाट हटाएपछि गृहयुद्धमा फसेको लाईबेरीया अहिले विस्तारै आर्थिक उन्नतिको बाटोमा छ । लीग अफ नेसन्स र संयुक्त राष्ट्रसंघको संस्थापक देशका हिसाबले लाइबेरीयालाई बलियो अफ्रीकी देशका रुपमा हेरिन्छ । यहाँ अंग्रेजीलाई प्रमुख भाषाको रुपमा लिइएको छ । 

सेप्टेम्बर २०– १५१ औं देश नाइजर 
पश्चिम अफ्रिकी मुलुक नाइजर नेपालजस्तै भूपरिवेष्ठित हो । यो देशको नाम नाईजर नदीको नामबाट राखिएको छ । उत्तरपूर्वमा लीविया, पूर्वमा चाड, दक्षिणमा नाइजेरीया र बेनीन, पश्चिममा माली र बुर्किनाफासो तथा उत्तरपश्चिममा अल्जेरिया रहेको नाइजर पश्चिम अफ्रिकाकै ठूलो देश हो । यसको कुल क्षेत्रफल १२ लाख ७० हजार वर्गकिलोमिटर छ । यसको ८० प्रतिशत भन्दा बढी भूभाग सहारा मरुभूमिमा पर्दछ । मुस्लिम प्रधान नाइजर उच्च जन्मदर र मानव विकास सूचकांकमा पछि परेको देश हो । नाइजरलाई शिक्षाका दृष्टिले विश्वकै पिछडिएका देशमध्ये एक मानिन्छ । २०१५ को एक तथ्याङ्कका अनुसार यहाँका ७१.३ प्रतिशत मानिस शिक्षाको पहुँच बाहिर छन् । 

अक्टोबर ३१– १५२ औं देश एरिट्रीया 
पूर्वोत्तर अफ्रीकामा अवस्थित एरिट्रीया नेपालजस्तै एक बहुजातीय देश हो । यसको पश्चिममा सूडान, दक्षिणमा इथियोपिया तथा दक्षिणपूर्वमा जेबुडी रहेको छ । देशको पूर्व तथा उत्तर पूर्वमा साऊदी अरब तथा पूर्वमा लाल सागरको विशाल तटीयरेखा रहेको छ । यहाँका धेरै मानिसले इस्लाम तथा क्रिस्चियन धर्म अंगालेका छन् । 

नोभेम्बर ७– १५३ औं देश बहमास
१९७३ मा बेलायतबाट स्वतन्त्र भएको बहमास अमेरिका र क्युबाको बीचमा पर्ने एक सानो तर सम्पन्न टापु हो । बहमासलाई विश्वका धनी देशमै गनिन्छ । ७ सय भन्दा धेरै टापु रहेको  बहमासमा मानवबस्ती भने ३० ओटा टापूमा मात्रै रहेको बताइन्छ । १३ हजार ९ सय ४० वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको बहमासको जनसंख्या २०१६ को तथ्याङ्क अनुसार मा ३ लाख ९१ हजार १ सय ३५ रहेको छ । बसमासले फेबु्रअरी ४, २००५ मा व्यापक परमाणु परिक्षण सन्धि      (सिटिविटी) मा हस्ताक्षर गरेको थियो ।   

नोभेम्बर २४– १५४ औं देश लिकटेन्स्टिन
मध्ययुरोपको भूपेरिवेष्टित राष्ट्र लिकटेन्स्टिनको सीमा पश्चिम तथा दक्षिणमा स्विटजरल्याण्ड र पूर्वमा अस्ट्रियासँग जोडिएको छ । १ सय ६० वर्ग किमी मात्रै क्षेत्रफल रहेको यो देशको जनसंख्या विश्व बैंकको २०१६ को तथ्याङ्क अनुसार ३७ हजार ६ सय ६६ रहेको छ । 

सीमा जर्मनीसँग नजोडिए पनि लीकटेनश्टाइन जर्मन भाषी राज्य हो । पर्वतीय भूसंरचनाका कारण यो पर्यटकीय हिसाबले पनि लोकप्रिय स्थल हो । यो देश मध्यकालीन दरबारहरुको लागि पनि प्रख्यात छ । यूरोपीय संघमा नभएपनि यो यूरोपीय मुक्त व्यापार संगठनको सदस्य राष्ट्र हो ।  

डिसेम्बर ९– १५५ औं देश अंगोला 

अंगोला दक्षिण पश्चिमी अफ्रीकामा अवस्थित तेल र खनीजको भण्डारका रुपमा चिनिने देश हो । अंगोला अफ्रीकाकै सातौं ठूलो देश हो । यो दक्षिणमा नामिबियासँग, उत्तरमा कंगोसँग तथा पूर्वमा जाम्बिया र पश्चिममा आन्द्र महासागरसँग जोडिएको छ । सन् १९७५ देखि २००२ सम्म गृहयुद्धमा फसेको अंगोला हाल राजनीतिक स्थाथित्वसँगै विकासको गतिमा छ । सबै क्षेत्रको समान विकास नहुँदा अंगोलाका धेरैजसो नागरिकको जीवनस्तर निम्नस्तरकै रहेको छ । अंगोला पनि नेपालजस्तै बहुजातिय तथा बहुसास्कृतिक भूमि हो । 

डिसेम्बर ३०– १५६ औं देश बुर्किनाफासो 

नेपालले २०१७ को अन्तिम शनिबार डिसेम्बर ३० मा अफ्रिकी मुलुक बुर्किनाफासोसँग कूटनीतिक सम्बन्ध विस्तार गर्यो । शनिबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि दुुर्गाप्रसाद भट्टराई र बुर्किनाफासोका स्थायी प्रतिनिधि एम्दोगो एरिक टियरेबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी पत्रमा हस्ताक्षर भएको हो । दुवै देशका प्रतिनिधिले यससम्बन्धी जानकारी पत्र संयुक्त रूपमा हस्ताक्षर गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई बुझाएका छन् । समझदारीपत्रमा हस्ताक्षरसँगै दुवै देशका प्रतिनिधिले साझेदारीका विविध क्षेत्रका विषयमा चर्चासमेत गरे ।

संयुक्त राष्ट्रसंघको विभिन्न निकायमा सँगसँगै काम गरेका नेपाल र बुर्किनाफासोबीच कूटनीतिक सम्बन्ध विस्तारसँगै आगामी दिनमा थप साझेदारी हुने अपेक्षा गरिएको छ । इमानदार मानिसहरूको भूमिका रुपमा चिनिने पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासो पनि नेपालजस्तै भूपेरिवेष्ठित राष्ट्र हो । जनसंख्या १ करोड ७० लाख छ भने भूगोल नेपालको भन्दा करिब १ लाख वर्गकिलोमिटर ठूलो छ । नेपाल र बुर्किना फासो दुवै अति कम विकसित, भुपेरिवेष्ठित राष्ट्रहरूको समूहका सदस्य राष्ट्र हुन् । दुवै देश असंलग्न राष्ट्रमै रहेका छन् । 

१७ को उपलब्धि वार्षिक क्यालेन्डरकै उच्च : परराष्ट्र सचीव बैरागी

यसअघिका वर्षहरूको भन्दा यस वर्ष सबैभन्दा धेरै कूटनीतिक सम्बन्ध स्थापना भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका सचीव शंकरदास बैरागीले भने “कूटनीतिक सम्बन्धको वार्षिक क्यालेन्डरमा यो नै सबैभन्दा उच्च उपलब्धि  हो । यसबाट हामीलाई निकै उत्साह मिलेको छ ।” नेपालले सात वर्षको अवधिमा जम्मा २४ वटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेकोमा २०१७ मा मात्रै १२ वटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । मन्त्रालयका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि दुुर्गाप्रसाद भट्टराई २०१३ मा न्युयोर्क गएपछि हालसम्म मात्रै १६ वटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 

यस्तो छ ०१७ मा धेरै कूटनीतिक सम्बन्ध बनाउनुको कारण

२०१७ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सबैभन्दा बढी मतसहित एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बन्यो । नेपालले एसिया प्यासिफिकको तर्फबाट उम्मेदबारी दिएको थियो । नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया यसको लागि प्रतिस्पर्धामा थिए । पहिला माल्दिभ्स पनि रहेकोमा उसले पहिले नै उम्मेदवारी फिर्ता लियो । नेपालले परिषदमा जित्ने सम्भावना बलियो भएपनि ढुक्क थिएन । 

अन्ततः नेपाल एक सय ६६ मतसहित पहिलो, दोस्रोमा कतारले एक सय ५५ र तेस्रोमा पाकिस्तानले १ सय ५१ र चौथोमा अफागानिस्तानले एक सय ३० मत ल्याई दुई वर्षका लागि सदस्य भए । नेपाल यो समूहको सबैभन्दा बढी मत ल्याउने मुलुक पनि बनेको छ । मलेसिया भने एक सय २९ मतले पाँचौ भएर सदस्य हुनबाट बञ्चित रह्यो । 

सार्कका तीनै मुलुक नेपाल, पाकिस्तान र अफगानिस्तान यसको सदस्य राष्ट्र बनेका छन् । यसरी नेपालले धेरै मत पाउनुको प्रमुख कारण थियो नेपालले १७ मा गरेको कूटनीतिक लविङ । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधी दुुर्गाप्रसाद भट्टराईले पछिल्लो समय भोटकै लागि सात मुलुकसँग कूटनीतिक सम्बन्ध नै स्थापाना गरेका थिए । परराष्ट्र श्रोतका अनसुार लामो समयदेखि यसमा कूटनीतिक लविङ भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय