
काठमाडौं । चीनको ल्यान्डस्पेस टेक्नोलोजीले विकास गरेको मिथेनबाट सञ्चालन हुने नयाँ रकेटले शनिबार ६ वटा उपग्रह पृथ्वीको कक्षमा पठाएको छ । योसँगै निजी स्टार्टअप कम्पनीले सस्तो र स्वच्छ इन्धनमा ध्यान केन्द्रित गरिरहेको देखाएको छ । यसले पुनः प्रयोग गर्न सकिने रकेट विकास गर्न मद्दत गर्ने आशा गरिएको छ ।
कम्पनीकानुसार, झुक्वे–२ई वाई२ वाहक रकेट स्थानीय समयानुसार, बिहान १२ः१२ बजे चीनको उत्तरपश्चिमी जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट उडान भएको हो । यो झुक्वे–२ शृंखलाको पाँचौँ उडान हो ।
बेइजिङमा अवस्थित ल्यान्डस्पेसले सन् २०२३ को जुलाईमा मिथेन–तरल अक्सिजन रकेट प्रक्षेपण गर्ने विश्वकै पहिलो कम्पनी बनेको थियो । यसले एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लू ओरिजिनजस्ता अमेरिकी प्रतिस्पर्धीलाई पछि पारेको थियो ।
मिथेनबाट चल्ने रकेटमा अहिले धेरैको रुचि बढेको छ । यो अधिक प्रयोग हुने हाइड्रोकार्बन इन्धनभन्दा कम प्रदूषण फैलाउने, सुरक्षित र सस्तो मानिन्छ र पुनः प्रयोग हुने रकेटका लागि उपयुक्त ‘प्रोपोलेन्ट’ हो ।
ल्यान्डस्पेसले रकेटको पेलोड बढाएको र यसले चीनको विस्तार रहेको व्यावसायिक अन्तरिक्ष उद्योगमा बढ्दो मागलाई प्रतिविम्बित गर्ने बताइएको छ । यसले मस्कको स्टारलिंकको विकल्पको रूपमा उपग्रह तारामण्डल बनाउन प्रतिस्पर्धा बढाएको छ ।
यसको पहिलो सफल मिथेनबाट चल्ने प्रक्षेपणले कुनै वास्तविक उपग्रह लिएर गएको थिएन । तर, सन् २०२३ डिसेम्बरमा दोस्रो प्रक्षेपणले तीनवटा उपग्रह सफलतापूर्वक कक्षामा पठाएको थियो । शनिबारको प्रक्षेपणले ६ वटा उपग्रह कक्षमा पठायो । यो चिनियाँ कम्पनी स्पेसटी अर्थात् चाङ्शा तियानी अन्तरिक्ष विज्ञान र प्रविधि अनुसन्धान संस्थानले विकास गरेको हो ।
प्रक्षेपण अघि ल्यान्डस्पेसले आयोजना गरेको लाइभस्ट्रिममा संस्थानका उपाध्यक्ष ली जियाओमिङले भनेका छन्, “‘पेलोड‘मा एक रडार उपग्रह, दुईवटा मल्टिस्पेक्ट्रल उपग्रह र तीनवटा वैज्ञानिक प्रयोगका उपग्रह समावेश छन् । यसको तौल २० देखि ३०० किलोग्रामको बीचमा छ ।”
रोयटर्सबाट ।