
काठमाडौं । स्पेनिस अनुसन्धानकर्ताहरूले हालै प्रकाशित गरेको एक विस्तृत प्रतिवेदनअनुसार जर्मनीबाट २०० यात्री बोकेर स्पेन उडेको विमान केही समय पाइलटबिनै उडेको पत्ता लागेको छ ।
प्रतिवेदनअनुसार, को–पाइलटको चिकित्सकीय आपत्कालीन स्थिति र पाइलटको गलत समयको शौचालयको विरामले २०० यात्रीका लागि दुर्घटना हुनसक्ने अवस्था सिर्जना गरेको थियो ।
यो घटना गत वर्ष फेब्रुअरी २०२४ मा भएको थियो । तर, स्पेनिस अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको प्रतिवेदनपछि मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको छ ।
बिजनेस इन्साइडरका अनुसार, जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिल जाँदै गरेको लुफ्थान्सा विमान लगभग १० मिनेटसम्म पाइलटबिनै उड्यो । जब विमान स्पेनको सीमानजिकै पुगिसकेको थियो र यात्रा समय करिब ३० मिनेट मात्र बाँकी थियो, त्यतिबेला क्याप्टेनले शौचालय जाने निर्णय गरे ।
आठ मिनेटपछि क्याप्टेन जब ककपिटमा फर्कने कोसिस गरे, तब उनले ककपिटको ढोकाको सुरक्षा कोड पाँचपटक डायल गर्ने प्रयास गरे पनि प्रवेश गर्न सकेनन् । एक उड्डयन परिचारिकाले इन्टरकम प्रयोग गरेर को–पाइलटलाई सम्पर्क गर्ने प्रयास गरिन्, तर कसैले जवाफ दिएनन् ।
क्याप्टेन शौचालय जानुअघिसम्म ३८ वर्षीय को–पाइलटमा कुनै असामान्य अवस्था देखिएको थिएन । तर, क्याप्टेन शौचालय गएको बेलामा उनी अचेत भएका थिए । अन्ततः को–पाइलट होसमा आए र क्याप्टेनलाई ककपिट खोल्न सफल भए । यसरी विमान लगभग १० मिनेटसम्म नियन्त्रण बाहिर रह्यो ।
को–पाइलटका अनुहार फिक्का भएको, शरीरबाट पसिना बगिरहेका र असामान्य रूपमा हल्लिँदै गरेकाले उनलाई उड्डयन दल र विमानमा उपस्थित एक डाक्टरले छिट्टै उपचार गरे । यसैबीच, क्याप्टेनले विमानलाई सबैभन्दा नजिकैको म्याड्रिड एयरपोर्टमा डाइभर्ट गरे ताकी को–पाइलटलाई तत्काल चिकित्सकीय सहयोग दिन सकियोस् ।
अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार को–पाइलटको अचानक र गम्भीर अशक्तता न्यूरोलोजिकल डिसअर्डरको कारणले भएको थियो, जसले मस्तिस्कको स्ट्रोक ल्याउने जोखिम राख्छ ।
“अनुसन्धानकर्ताहरूले युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सीलाई यो घटनाको बारेमा सबै एयरलाइन्सलाई जानकारी दिन सिफारिस गरेका छन् । किनभने उनीहरूले ककपिटमा एक्लै पाइलट रहनुको जोखिम पुनः मूल्यांकन गर्न सकून्,” बिजनेस इन्साइडरले लेखेको छ ।
लुफ्थान्साले बिजनेस इन्साइडरले यस विषयमा टिप्पणीको लागि अनुरोध गर्दा कुनै प्रतिक्रिया दिएनन् । याहुन्युज/मेन्स जोर्नल