
काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छन् । शनिबार (जेठ ३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन् ।
“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ । नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो,” अभिनेत्री फतेहीले भनिन् ।
उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन् । उनी संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईमार्फत नेपाल आएकी हुन् ।
उनको नृत्य टोलीमा रहेका अरू २३ सदस्य शुक्रबार नै नेपाल आएका थिए । उनीहरू शनिबार साँझ तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रमनिम्ति काठमाडौं आएका हुन् ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमनिम्ति अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनीष कार्कीले जानकारी दिए ।
उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ । नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”
आयोजक कार्कीका अनुसार, अभिनेत्री फतेही आइतबार बिहान भारत फर्कनेछिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ ।
अभिनेत्री फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।
उक्त कार्यक्रममा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजामगर, नृत्यकार समर्पण लामालगायत नेपाली कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ । रासस