
काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दुई नयाँ मोडल लन्च गर्ने भएको छ । नेक्सन भेन्चरले एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल ल्याउने भएको हो । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ ।
एलईभी ०५
एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टका इलेक्ट्रिक कार हो । यसको लम्बाइ ४,२०० एमएम, चौडाइ १,७७० एमएम र उचाइ १,६१० एमएम छ । यो कारमा २,६५० एमएम लामो ह्वीलबेस रहेको छ ।
१७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । एलईभी०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ । यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ ।
यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको व्याट्रीप्याक रहेको छ । एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ ।
यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र सात किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।
एलईभी एक्स
नेक्सन भेन्चरले लन्च गर्न लागेको अर्को मोडल एलईभी–एक्स हो । क्रसओभर एसयूभी डिजाइनको यो ईभी यसअघिनै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो । एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउने छ ।
एलईभी एक्समा फ्रन्ट र रियर गरी दुईसय किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ । साथै, यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजकोे लागि फ्रङ्स समेत थपिएको छ ।
नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ ।