site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘पर्याप्रेमको गुञ्जन’मा पर्यावरण

कृष्ण बाउसे वर्तमान समयका सशक्त कवि हुन् । समाजका विभिन्न विषयलाई कविताको विषय बनाउने उनको पछिल्लो काव्य विषय पर्यावरणसँग निकट रहेको छ । प्रकृति र मानव एकार्काका परिपूरक हुन् । त्यसैले कविताले बोलेको प्रकृतिभित्र मान्छे समाहित हुन्छ, हुनुपर्छ भन्ने भावसँगै उनको पछिल्लो कवितासंग्रह ‘पर्याप्रेमको गुञ्जन’ प्रकाशित छ ।

लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील कवि बाउसेका ‘अज्ञात यात्राका पदचिह्नहरू’, ‘सपनाको जीर्णोद्धार’, ‘पर्याप्रेमको गुञ्जन’ कवितासंग्रह प्रकाशित छ भने मुक्तकतर्फ ‘देशको बिन्तीपत्र’, बालसाहित्यतर्फ ‘नानीको रहर’लगायत कृतिहरू प्रकाशित छन् ।

इकोक्रिटिसिज्मलाई नेपालीमा हरियो आलोचना भनिन्छ । यो साहित्यिक अध्ययनको द्रुत गतिमा उदीयमान क्षेत्र हो, जसले मानवको वातावरणसँगको सम्बन्धलाई विचार गर्दछ ।

चेरिल ग्लोटफेल्टीले द इकोक्रिटिसिज्म रिडरको परिचयमा उल्लेख गरेझैँ जसरी नारीवादी आलोचनाले भाषा र साहित्यलाई लिंग–सचेत दृष्टिकोणको रूपमा जाँच्छ र मार्क्सवादी आलोचनाले पाठकहरूको पठनमा उत्पादनका मोडहरू र आर्थिक वर्गको बारेमा जागरुकता ल्याउँछ, वातावरणीय आलोचकहरूले साहित्यिक पाठहरूमार्फत प्रकृति र प्राकृतिक संसारको कल्पना कसरी गरिन्छ भनेर अन्वेषण गर्छन् ।

वातावरणीय चिन्ताहरूको साहित्यिक प्रतिक्रिया मुद्दाहरूजत्तिकै पुरानो छ । वन फँडानी, वायु प्रदूषण, लोपोन्मुख प्रजाति, सिमसारको क्षति, पशु अधिकार र व्यापक उपभोक्तावाद यी सबै पश्चिमी साहित्यमा सयौँ र केही अवस्थामा हजारौँ वर्षदेखि विवादास्पद मुद्दाहरूको रूपमा देखापर्दै आएका छन् ।

इकोक्रिटिसिज्म एक साहित्यिक सिद्धान्त र आलोचनात्मक दृष्टिकोण हो, जसले पाठहरूमा प्रकृतिको प्रतिनिधित्व र साहित्यमा प्रतिविम्बित वातावरणीय मुद्दाहरू र सरोकार दुवैको अन्वेषण गर्दछ ।

यस्तै प्रकृतिका विविध विषयलाई समेटेर रचना गरेको साहित्य नै पर्यासाहित्य हो ।

जैविक विविधतालाई जोगाइराख्न रासायनिक कीटनाशक औषधिको प्रयोगमा नियन्त्रण गर्नु, धुवाँ फाल्ने उद्योग र वाहनमाथि प्रतिबन्ध लगाउँदै सौर्य, पवन र जल, ऊर्जाको उत्पादन र प्रयोग बढाउनु तथा एसी र रेफ्रिजेरेटरजस्ता घरभित्रैबाट अधिक प्रदूषण फैलाउने साधनको न्यूनतम प्रयोग गर्नु आजको आवश्यकता भइसकेको छ ।

यसैलाई झकझक्याउन पर्यासाहित्यले विशेष भूमिका निर्वाह गर्दछ । यस्तै कुरालाई हृदयंगम गरेर रचिएका कवितालाई हिजोआज वातावरण कविता, परिवृत्तीय कविता, पर्याकविता, इकोपोइट्री भन्ने गरिएको छ ।

यस कवितासंग्र्रहका रचनाहरू पनि यही चासो र चिन्तामा केन्द्रित भएकाले यिनलाई पर्याकविता भनिएको हो । बाउसेको ‘पर्याप्रेमको गुञ्जन’ एक विशुद्ध पर्याकविता हो भन्न सकिन्छ ।

प्रकृति, धरा, पृथ्वीलाई मानव अस्तित्व लोप भएको थलोमा परिणत हुनबाट जोगाऊँ भन्ने उद्देश्यका साथ लेखिएका ५२ वटा रचना यसभित्र समावेश गरिएका छन् । संग्र्रहमा प्रकृतिका विभिन्न प्रसंगसँगै प्राकृतिक चेतनालाई यसरी प्रस्तुत गरिएको छ–
जथाभावी रुख काट्दा
भुसुक्कै बिर्सेछु मैले त्यो कुरा 
नदीमा विषालु फोहर फाल्दा
भुसुक्कै बिर्सेछु मैले त्यो कुरा ।
(पर्याप्रेमको गुञ्जन, पृ.१९)

ए बुलडोजर !
ए दातृराष्ट्र !
ए साहुकार !
सम्बन्ध नै तोड बरु
तर, मेरो परिवेशलाई नधमिल्याऊ !
कृपया मलाई 
तिम्रो कथित विकासको जहर नपिलाऊ !
(विकासको जहर ! पृ.३१)

थाहा छैन मलाई 
आफूभित्र कसको शत्रु पाल्दै छु !
फोहोर फाल्दै छु
कि
आफैँलाई खाडलमा हाल्दै छु !
(प्लास्टिकको घाँस, पृ.६५)

जमिन बाँझिएर 
अनाजको अभाव भएको यस धर्तीमा
वन नासिएर
प्राणवायुको उत्पादन घटिरहेको यस धर्तीमा 
भए पो सुखका क्षण साट्न आउँथ्यो ऊ !
(मरुभूमिको त्रास, पृ.७७)

यसरी कविले प्रकृतिमाथि भइरहेको निरन्तर प्रहार र त्यसले बनाएको अवस्थालाई विभिन्न शीर्षकमा प्रस्तुत गर्दै सचेत तुल्याउने प्रयास गरेका छन् । मानिसले आफ्नो धराप्रति सधैँ माया गर्नुपर्छ, यसको सुन्दर पक्षलाई जोगाउन प्रयत्न गरिरहनुपर्छ भन्ने विचार अभिव्यक्त गरेका छन्–
घर भत्किएर 
गाउँ खण्डहर भएको छ ।
आफन्तका लासहरू गाडेर
आँगनमा तुलसी रोपिएको छ ।
एकछाक खाने अन्न जोगिएको छैन । 
पुरिएका कुनै लुगा निकाल्न सकिएको छैन 
तर पनि
जूनमाया बारी खोस्रिँदै छिन्
बोटबिरुवा लगाउनु छ भनेर
कोदो फलाउनु छ भनेर

तोरी फुलाउनु छ भनेर । (जूनमायाको हाँसो, पृ. ४०)

साँच्चै !
कस्तो सार्थक हुँदो हो यो जिन्दगानी !
अझ
प्रकृतिको महाउत्सवमा
माहुरी भई नाच्न पाए !
हरियालीको साथ रहेर
फूल बनी हाँस्न पाए !
धुवाँ धुलो नाश गर्ने

रुख भएर बाँच्न पाए ! (रुख भएर बाँच्न पाए, पृ.१०१)

हो, 
प्रदूषणले फैलाएको आतंकको शमन गरेर 
खुसियालीको संसारको रचनामा 
जुटेको छ
आजको सचेत मान्छे (हरियाली संसारको पुनर्निर्माण,
पृ.१७२)

माथि उल्लेखित कविताले प्राकृतिक सुन्दरतासँगको सुखद जीवनको कल्पना गर्दै हामी सधैँ प्रकृतिलाई जोगाएर मात्रै सुखद जीवन बाँच्न सक्छौँ भन्ने प्रेरणा दिएको छ ।

कवि कृष्ण बाउसेका ‘पर्याप्रेमको गुञ्जन’मा समेटिएका धेरैजसो कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका देखिन्छन् । कविताक्रमका रूपमा हेर्दा ‘फूलको प्रश्न’, ‘पर्याप्रेमको गुञ्जन’, ‘उत्पीडित संसारको बेहोस मान्छेसँग’, ‘मलाई आरक्षित गरिराख’, ‘विकासको जहर !, ‘विनाशविरुद्धको संकल्प’, ‘शोषण र आतंक’, ‘जूनमायाको हाँसो’, ‘उसले आकाशमा विष घोलिरहँदा’, ‘परिवेशको जवानी !’, ‘पृथ्वीको चिन्ता’, ‘दुखन भाइ’, ‘वधशाला’, ‘सूर्यलाई सम्बोधन डढेलोको आतंक’, ‘प्लास्टिकको घाँस’, ‘डाइनोसरको भजन !’ लगायत थुप्रै कविताहरू रहेको छ ।

यस कविताकृतिभित्र विभिन्न शीर्षकमा पर्याभाव प्रस्तुत भएका छन् । तिनले प्रकृति, प्रदूषण, विनाश र त्यसलाई सुधार्न गरिएका प्रयासलाई अभिव्यक्त गरेको छ – जुन पठनीय छ, सरल छ । र, पाठकको रुचिमा पनि पर्ने देखिन्छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्