
काठमाडौं । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।
नेपाललाई सुपर–३ मा प्रवेश गर्न हङकङ र बहराइनबीचको खेल रद्द हुनुपर्ने समीकरण थियो । सोही समीकरणअनुसार शुक्रबार यी दुई टिमबीचको खेल वर्षाका कारण रद्द भएपछि प्रतियोगिताको नियमअनुरुप नेपाल समूहमा सबैभन्दा धेरै जित निकाल्ने टिम बन्दै अर्को चरणमा प्रवेश गरेको हो ।
यो नतिजासँगै नेपालले समूह ‘सी’ मा चार खेलबाट पाँच अंक जोडेको छ । नेपालले प्रतियोगिताका दुई खेलमा जित निकाल्दा एक खेलमा हार बेहोरेको थियो । यस्तै, एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यता, दोस्रो स्थानमा खुम्चिएको हङकङले समान पाँच अंक नै जोडेको भए पनि एक खेलमा मात्रै जित निकालेको छ । हङकङको तीन खेल वर्षाका कारण रद्द भएको छ ।
तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको बहराइनले भने चार खेल खेल्दा दुई अंक मात्रै जोड्न सक्यो ।
अब नेपालले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र थाइल्यानडविरुद्ध खेल्ने छ । सुपर–३ मा तीन टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । जसबाट शीर्ष दुई टिम विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।