site stats
बाह्रखरी :: Baahrakhari
देश
भारी वर्षा नहुँदा पनि कसरी आइरहेको छ बाढी ? केको संकेत हो यो ?

काठमाडौं । काभ्रेको रोशी खोलामा सोमबार (वैशाख २९) अचानक आएको बाढीले सडकको ‘डाइभर्सन’ बगायो । बीपी राजमार्ग दुई दिनसम्म अवरुद्ध भयो । 

अवरुद्ध सडक सञ्चालन गर्न करिब २४ घण्टा लाग्यो । अझै उक्त सडकखण्डमा दुईपांग्रे सवारीसाधनलाई आवातजावत गर्न कठिन छ । 

सोही दिन पनौती नगरपालिका–५, सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेनुका गिरी बेपत्ता भइन् । मेला गएर फर्कने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

वर्षाका कारण पनौती बसपार्क आसपासका केही क्षेत्रमा डुबान भयो । स्थानीयले लगाएको आलु खेतीमा खोलाको बाढी पस्दा ठूलो क्षति पुग्यो । 

पनौतीमा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्‍याउँदा त्यहाँबाट करिब ३२ किलोमिटरको दूरीमा रहेको काठमाडौं उपत्यकामा चर्को गर्मी थियो । काठमाडौंकै बानेश्वर क्षेत्रमा घाम लागिरहेका बेला बूढानीलकण्ठ आसपास वर्षा भइरहेको थियो । किन एक ठाउँमा पानी परिरहेका समयमा नजिकैको अर्को स्थानमा घाम लागिरहेको हुन्छ ? 

प्रिमनसुनको विशेषता नै यही भएको मौसमविद् बताउँछन् । तत्काल नयाँ प्रणाली विकास भएर खण्डवृष्टि हुनु प्रिमनसुनको मुख्य विशेषता भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेविड ढकालको भनाइ छ । 

“ठाउँठाउँमा स्थानीय वायु तत्काल विकास भएर मेघर्गजन र चट्याङसहित वर्षा हुनु प्रिमनसुनको फिचर नै हो,” ढकालले बाह्रखरीसँग भने, “यसरी वर्षा हुनुलाई असामान्य मानिँदैन । यो सामान्य प्रक्रिया हो ।”

प्रिमनसुनमा हल्कादेखि मध्यम वर्षा हुनुलाई सामान्य मानिन्छ । ठाउँठाउँमा भारी वर्षा हुनु पनि सामान्य मानिने उनले बताए ।

“प्रिमनसुनमा सामान्यतया बिहान मौसम सफा हुन्छ । अपराह्नपछि बदली भएर मेघगर्जन र चट्टयाङसहित वर्षा हुन्छ,” उनले प्रस्ट पारे ।

नयाँ प्रणाली विकास भएर दुई घण्टाभित्र पानी परिसकेर पुनः पहिलाकै अवस्थामा मौसम फर्किनु प्रिमनसुनको विशेषता रहेको मौसमविद्ले बताउँदै आएका छन् ।

स्थानीय र पश्चिमी वायु, अरबसागर वा बंगालको खाडीबाट भित्रने जलवाष्पयुक्त हावा एकार्कामा मिसिँदा प्रिमनसुनमा छोटो समयमै तत्काल नयाँ प्रणाली विकास भएर ठाउँठाउँमा खण्डवृष्टि हुने जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउँछन् ।

“यही कारण काठमाडौंमा घाम लाग्दा पनौतीमा पानी पर्छ । काठमाडौंमा पानी पर्दा पनौतीमा गर्मी भइरहेको हुन्छ,” उनले भने, “हिजो र अस्तिको गुल्मी, बागलुङको वर्षा पनि यस्तै हो ।”

मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि भनिन्छ । यो वर्ष मार्चमा औसतभन्दा कम, मेमा औसतभन्दा थोरै बढी तर सामान्य र मार्चको १५ सम्म औसत वर्षा भएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए ।

प्रि–मनसुनमा १४६.७ मिलिमिटर वर्षा हुनुलाई औसत मानिन्छ । मार्च १ देखि मे १५ सम्म १४८.१ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । “तीस वर्षको हाम्रो तथ्यांकलाई आधार मानेर निकालिएको औसत वर्षासँग प्रिमनसुनको यो अवधिको वर्षा हेर्दा हामी सरदर वर्षामै छौँ,” उनले भने, “३० वर्षको सरदर वर्षाभन्दा हामी धेरै टाढा छैनौँ ।”

उनका अनुसार, अबको एक महिना पनि लगातार वर्षा हुने अनुमान गरिएको छ । ‘एभोव नर्मल’ औसतभन्दा केही बढी पानी परे पनि धेरै वर्षा नहुने पूर्वानुमान छ ।

“यो प्रिमनसुनमा पनि हामी आजसम्म ३० वर्षको औसत वर्षाको सेरोफेरोमा छौँ । त्यसैले केही दिनअगाडि भएको वर्षा र त्यसको क्षति हेर्दा अस्वाभाविक देखिए पनि वर्षाको तथ्यांक हेर्दा स्वाभाविक छ,” उनले भने, “क्षति भन्ने कुरा वर्षाको प्रकृति र संरचनामा पनि भर पर्छ । पूर्वतयारी र सचेतनामा पनि भर पर्छ ।”

विज्ञ उप्रेती पनि भारी वर्षा नभईकन बाढी आउनुलाई प्रकृतिले सिर्जना गरेको विपद्भन्दा पनि मानवीय हेलचेक्र्याइँ मुख्य कारण मान्छन् । “सरकारले २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा नभएसम्म बाढी वा पहिरोजन्य प्रकोप आउँदैन भन्छ । तर, रोशी खोलामा ४४.४ मिलिमिटर वर्षा हुँदा नै बाढी आयो किन ?,” उनी प्रश्न गर्छन् ।

यसको जवाफ पनि उप्रेती स्वयंसँग छ । रोशी खोलाको माथिल्लो क्षेत्रदेखि माटो, ढुंगा र बालुवा उत्खनन् गरिनु ४४.४ मिलिमिटर वर्षा हुँदा नै बाढी आउनुको मुख्य कारण भएको उनी बताउँछन् । 

“जलवायु परिवर्तन एउटा कारण होला, तर रोशीको बाढीमा जथाभावी ढुंगा, बालुवा र गिट्टी निकालेर ठूलठूला खाडल पारिनु हो,” उनले भने, “सानो पानी पर्दा पनि एउटा खाल्डो भरिएर पानी बग्दै अर्कोमा र अर्को खाल्डो भरिएर फुट्दै तल्लोतल्लो हुँदै पानी एकत्रित भएर तल्लो बेल्टमा आइपुग्दा ठूलो बाढी आयो भन्ने लाग्छ ।” 

त्यसैले यसलाई ठूलो पानी परेर बाढी आयो भन्नुभन्दा मानवीय हेलचेक्र्याइँ मुख्य कारण भनेर निष्कर्ष निकालिनुपर्नेमा उनी जोड दिन्छन् । भारी वर्षा नभए पनि बेलाबेलामा ठाउँठाउँमा बाढी आउने गरेकाले यसमा सम्बन्धित पक्ष सचेत हुनुपर्ने उनको सुझाव छ ।

२४ घण्टामा १० मिलिमिटरसम्मलाई ‘सामान्य’, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई ‘मध्यम’ वर्षा भनिन्छ ।

विभागको मापदण्डानुसार, ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १०० देखि २०० मिलिमिटरसम्मलाई ‘धेरै भारी’ र त्योभन्दा बढी पानी परेमा ‘अति भारी’ वर्षा भन्ने गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्