
काठमाडौं । एक महिनाअघि गत चैत २९ गते काठमाडौंको बागबजारमा रहेको सहारा गेस्ट हाउसको ३०१ नम्बर कोठाबाट अस्वाभाविक गन्ध आयो । उक्त कोठा गेस्ट हाउस सञ्चालकले चैत ११ गते नै सफा गरेर राखेका थिए । त्यसपछि भने उनले कोठा हेरेका थिएनन् ।
अस्वाभाविक गन्ध आएपछि गेस्ट हाउस सञ्चालकले कोठा हेर्न खोज्दा ढोकामा ताल्चा लगाइएको अवस्था देखे । तर त्यहाँ सञ्चालकले लगाएको ताला थिएन । घटना शंकास्पद लागेपछि सञ्चालकले प्रहरीलाई खबर गरे । सूचनापछि प्रहरी वृत्त सिंहदरबारको टोली गेस्ट हाउसमा पुग्यो ।
प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा गेस्ट हाउसको ताला फोडेर हेर्दा सिरकले छोपिएको अवस्थामा महिलाको अर्धनग्न शव फेला पर्यो । सँगै ढुंगा र पेचकसमेत फेला पर्यो ।
कोठाबाहिर ताला लगाइएको अवस्थामा शव फेला परेका कारण हत्या हो भन्ने निष्कर्ष निकाल्न प्रहरीलाई गाह्रो भएन । तर, महिलाको परिचय खुल्ने कुनै कागजात भने प्रहरीले फेला पार्न सकेन ।
तर, कोठाभित्र महिलाको कपडा र पुरुषको ‘अन्डरवेयर’ भने फेला पार्यो । त्यसबाहेक प्रहरीले कोठाभित्रको डस्टबिनमा एउटा चेक च्यातेर फालेको अवस्थामा फेला पार्यो । तर, गेस्ट हाउसमा बुक नै नभएको कोठाभित्र शव फेला परेका कारण प्रहरीलाई अनुसन्धान गर्न जटिल भयो ।
प्रहरीले गेस्ट हाउस आसपासका विभिन्न ठाउँका सीसीटीभी फुटेज हेरेर विश्लेषण गर्यो । महिला र पुरुष हिँडेको देखिए पनि को हुन् भन्नेबारे पहिचान खुलाउन प्रहरीलाई नै हम्मेहम्मे परेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आफूमातहतका सबै प्रहरी कार्यालयलाई कुनै महिला हराएको बारे निवेदन आए/नआएकोबारे जानकारी गराउन सर्कुलेसन नै गर्यो ।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा समेत महिलाको पहिचान गर्ने प्रयास जारी राखेको थियो । त्यसबीचमा महिला हराएकोबारे नुवाकोट सूर्यगढी नगरपालिका–१का नवीन तामाङले प्रहरी वृत्त बालाजुमा निवेदन दिएको खुल्यो ।
सोही निवेदनका आधारमा प्रहरीले फेला पारेको सीसीटीभी फुटेज देखाउँदा नवीनका परिवारले शव आफ्नी बहिनी २८ वर्षीया विमला तामाङको भएको भनेर खनाखत गरिदिए । तर, पुरुषको पहिचान भने हुन सकेको थिएन ।
कोठाभित्र मोबाइलसमेत फेला नपरेका कारण प्रहरीलाई अनुसन्धान गर्न जटिल थियो ।
च्यातिएको चेकबाट खुल्यो अनुसन्धानको क्लु
प्रहरीले विमलाको हत्या गरिएको कोठाभित्रको डस्टबिनमा च्यातेर फालेको चेकका सानासाना टुक्रालाई जोडेर हेर्न थाल्यो । चेक नेपाल एसबीआई बैंक लिमिटेडको थियो ।
चेक रामचन्द्र पन्त र सुशीला पन्तको संयुक्त नाउँमा सञ्चालन रहेको खाताको रहेको थियो । जोडेर हेरिएको चेकको पछाडि एउटा फोन नम्बर पनि लेखिएको थियो । सोही नम्बरमा फोन गर्दा रामचन्द्रकी श्रीमती सुशीला पन्तले फोन उठाइन् ।
प्रहरीले श्रीमान् रामचन्द्रबारे सुशीलासँग जानकारी लिए । तर, रामचन्द्र १०/१२ दिनदेखि घर नगएको तथ्य खुल्यो । भारतीय सेनाको हवल्दारबाट अवकाश पाएका धादिङका ४३ वर्षीय रामचन्द्र पन्त पछिल्लो समय तरकारी पसल चलाउँथे । प्रहरीले विमलाको हत्यामा उनको संंलग्नताबारे खुलाइसकेको थियो ।
प्रहरीको अनुसन्धानमा उनी भारत भागिसकेको खुल्यो । प्रहरीको निरन्तर प्रयासपछि भारतबाट मंगलबार साँझ काठमाडौं फर्किंदै गर्दा नागढुंगाबाट रामचन्द्र पक्राउ परे ।
उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पन्त र विमलाबीच लामो समयदेखि सम्बन्ध देखिएको छ । हत्या भएको दिन समेत उनीहरू सहमतिमै कोठामा बस्न बागबजार पुगेको, एउटा कोठा बुक गरेर अर्कै कोठामा बसेको खुलेको छ ।
विमलाले बिहे गर्न पन्तलाई दबाब दिएको समेत खुलेको छ । सोही विषयमा विवाद हुँदा सुरुमा विमलाले पन्तमाथि आक्रमण गरेको र ढुंगा समेत विमलाले नै ल्याएको रामचन्द्रले प्रहरी बयानमा बताएका छन् ।
पन्तले सोही ढुंगा प्रहार गरेर विमलाको हत्या गरेका हुन् । हत्यापछि बाहिरबाट अर्कै ताल्चा किनेर लगाएर रामचन्द्र भारत भागेको खुलेको छ ।