site stats
बाह्रखरी :: Baahrakhari
देश
अनौठो शैलीले सहकारी ठगी गरेका थिए भण्डारीले ! ज्योती गुरुङसँग थियो निकटता

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणका आरोपी ज्योतीबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सफल भयो ।

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् पक्राउ परेका बर्दिया बाँसगढी नगरपालिका–७ का ४२ वर्षीय भण्डारीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले बुधबार राति नेपाल ल्याएको हो ।
भण्डारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । 

भण्डारीसहितका आरोपीले मितेरी सहकारीमा बचत गर्ने १४४ जना र केही सञ्चालक समेतको गरी १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । भण्डारीबाहेक मितेरी सहकारी ठगी प्रकरणमा ज्योती गुरुङसमेत जोडिएकी थिइन् । उनीसमेत हाल फरार छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीको पत्राचारपछि इन्टरपोलले भण्डारीलाई २०८१ कात्तिक १३ गते रेड नोटिस जारी गरेको थियो । उक्त रेड नोटिसका आधारमा कम्बोडिया प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिँदै नेपाल फर्काइदिएको हो । 

सीआईबीका एसपी युवराज खड्काका अनुसार, भण्डारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को दफा २४९ ठगी तथा परिच्छेद २५ को दफा २७६ अनुसार कीर्ते कसूरमा अनुसन्धान सुरु भएको छ ।

कसरी ठगेका मितेरीको रकम ?

ज्योती भण्डारी मितेरी सहकारीका ऋणी होइनन् । उनी सहकारीको सदस्य वा सञ्चालक पनि होइनन् । तर, उनी सहकारीको करोडौँ रकम ठगीमा अनौठो तरिकाले जोडिन पुगेका हुन् । उनी लामो समयदेखि थाइल्यान्ड बस्थे । 
सहकारीका प्रबन्ध निर्देशक ज्योती गुरुङसँग उनको निकटता थियो । त्यही सम्पर्कमार्फत् उनी सहकारीका अन्य सञ्चालकसम्म जोडिन पुगे । 

सहकारीका सञ्चालकसित जोडिएका भण्डारीले थाइल्यान्डबाट सहकारी संस्थाका सचिव कृष्णबहादुर रानाको ग्लोबल आइएमआई बैंक इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ उपहार आएको खबर गरे ।

उनले आफ्नै ह्वाट्सएपमार्फत जम्मा गरेको टोकन समेत पठाइदिए ।  तर, उक्त रकम प्राप्तिका लागि कमिसन तिर्नुपर्ने भन्दै अनेक नम्बरका ह्वाट्सएपमार्फत् रकम माग गरे ।  त्यही उपहार रकम प्राप्तिका लागि सहकारीको तीन करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ भण्डारीले लिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

दुईवटा नागरिकता प्रयोग

सीआईबीको अनुसन्धानका क्रममा पार्सलका नाममा ठगी धन्दा चलाएका भण्डारीको नागरिकता र पासपोर्टसमेत दुईवटा रहेको खुलाएको छ । बर्दियाका भण्डारीले फरक फरक नागरिकता नम्बर र राहदानी प्रयोग गरेको खुलेको हो । 

बर्दिया जिल्ला प्रशासनबाट १४८०३ नम्बरको नागरिकता र ११३६४६९१ नम्बरको राहदानी लिएका भण्डारीले कास्कीबाट १५८८३ नागरिकता र १०५४८६८८ को राहदानी लिएको भेटिएको छ । यसरी कीर्ते नागरिकता र राहदानीमार्फत ठगी र स्क्याम गर्ने गरेको प्रहरीको भनाइ छ । 

सहकारी ठगीबाहेक भण्डारीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनेक मितिमा ठगी गरेको भन्दै उजुरीसमेत परेको खुलेको छ । उनी ठगी मुद्दामा पनि फरार आरोपी हुन् । भण्डारीले अन्य व्यक्तिलाई समेत यसरी नै ठगी गरेको आशंका प्रहरीको छ । 

सीआईबीले भण्डारी–पीडित व्यक्तिहरू कोही भए प्रहरीमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्