
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेबीच ‘गोप्य भेटघाट’ भयो, जेठकै पहिलो साता । दुवै पार्टीले उक्त भेट लामो समय गोप्य राख्यो । आखिर दुवै पक्षले सार्वजनिक गर्न नचाहेको भेटमा भएको चाहिँ के हो त ?
वाग्लेले भेट्नुभन्दा एक साताअघि अर्थात् गत वैशाख ३१ गते शनिबार साँझ रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल र शिशिर खनालले देउवासँग भेटेका थिए । तर, त्यो भेट एकदमै औपचारिकतामा सीमित रहेपछि सातापछि वाग्लेले भेटे । उक्त भेटको समन्वयकर्ता थिए, डा. नारायण खड्का ।
तर, भेटबारे लामो समयसम्म केही कुरा बाहिर आएन । रास्वपा नेता शिशिर खनाल ‘भेट सौहार्दपूर्ण भएको’ भएको बताउँछन् । उनले बाह्रखरीसँग भने, “हाम्रा सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि कार्यवाहक सभापति डीपी अर्याल र मैले सामान्य शिष्टाचार भेटमात्र गरेका हौं ।”
रास्वपाले हरेक भेट ‘कोर टिम’मा समीक्षासमेत गर्ने गरेको थियो । कार्यवाहक सभापति अर्याल र खनालको देउवासँगको भेट प्रभावकारी नभएको निस्कर्षपछि लगत्तै वाग्लेले देउवासँग समय मागेका थिए । देउवाले सहजै स्वीकार गरे, ‘आउनुस् ।’ त्यसपछि साँझ देउवा निवासमा पुगेका थिए, वाग्ले ।
उक्त भेटबारे वाग्लेले रास्वपाको ‘कोर टिम’ मा ब्रिफिङ गरेका थिए । वाग्लेले राखेका राजनीतिक विषयमा देउवाको ‘गुड रेस्पोन्स’ (सकारात्मक व्यवहार) थियो । स्रोतका अनुसार, वाग्लेले ‘डेमोक्र्याटिक एलाइन्स’ बनाउँदै अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले तत्कालै गठबन्धन तोड्ने सम्भावनालाई नकारेका थिए ।
तर, देउवाले पार्टी छाड्ने बेलामा आफूलाई कुनै जानकारी नदिएको वाग्लेसँग असन्तुष्टि पोखेका थिए । अझ त्यसलाई वाग्ले पार्टीबाट भागेको जसरी अर्थ्याउने प्रयास गरेका थिए । पार्टी छाड्दै गर्दा देउवा र आरजु राणातिर संकेत गर्दै वाग्लेले आरोप लगाएका थिए, ‘‘दाइ, भाउजूको कब्जामा पार्टी परेको छ ।’’
तर, देउवाले वाग्लेका ती पुराना आरोप थाहै नभएझैँ गरेका थिए । पार्टी छाडेपछि आफूसहित कांग्रेसका विषयमा गरेको आलोचनामा भने देउवाले असन्तोष जनाएका थिए । “पार्टीभित्रै बसेर जति आलोचना गरे पनि भइहाल्थ्यो । तर, पार्टी छाड्ने बेला एकपटक सोच्नुपर्थ्यो/सोध्नुपर्थ्यो,” देउवाले वाग्लेसँग भनेका थिए ।
देउवाको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “तिमी यहीँ बसेर आलोचना गरेर मलाई केही भएन, पार्टीबाहिर बसेर आलोचना गरेर के हुन्छ ?”
उनले इतिहास बोकेको पार्टीमा धेरैथरि नेता/कार्यकर्ता रहेको र केही अपेक्षाहरु भए आफूसँग भन्नुपर्नेमा त्यसो नगरेकामा देउवाले असन्तुष्टि जनाए ।
“पार्टीमा कुनै पद चाहिएको भए आएको भए हुन्थ्यो । राजनीति गर्न जुन समूहमा गए पनि पार्टी नै छाड्ने अवस्था आएपछि भेटेर भनेको भए हुन्थ्यो,” देउवाले भने, “कुनै समस्या भए त म सम्बोधन गर्थे नि ! पार्टीको मूल नेतृत्वमा म थिएँ र छु भन्ने कुरा त भनिरहनुपर्ने कुरा भएन नि !”
देउवाले त्यसो भनेपछि वाग्लेले पनि आफूले निर्णय गरिसकेको बताएका थिए । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “सही वा गलत जे भए पनि निर्णय गरिसकेँ, रास्वपाबाट चुनाव जितेर सांसद र उपसभापति समेत भइसकेँ । अब राजनीतिक सहकार्यको प्रस्ताव लिएर आएको छु ।’’
वाग्लेले देउवासँगको भेटमा डेमोक्र्याटिक अलाएन्सको प्रस्ताव राखेका थिए ।
दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबाहेकको पनि सरकार बन्न सक्ने भन्दै संसदमा १५६ सिट लोकतान्त्रिक शक्तिको रहेको बताएका थिए । देउवालाई भेट्दासम्म भिजिट भिसा प्रकरण आइसकेको थिएन ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा निस्कन लागेको संघारमा देउवासँग वाग्लेले भेटेका थिए ।
वाम एकता नयाँ शिराबाट सुरु हुने भनिएको विद्या भण्डारीको चीन भ्रमणको सन्दर्भ जोड्दै वाग्लेले लोकतान्त्रिक शक्तिहरुबीच पनि सहकार्य हुनसक्ने विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।
देउवासँगको भेटबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झा एउटा लोकतन्त्र मान्ने पार्टीका शीर्ष नेतासँग अर्काे लोकतन्त्रवादी पार्टीका उपसभापतिको भेट हुनुलाई स्वाभाविक ठान्छन् ।
उनले दुवै पक्षको चाहनाका कारण भेटवार्ता सम्भव भएको र सौहार्दपूर्ण भेटवार्ता भएको पनि जानकारी दिए ।
“एउटा त हाम्रो मात्र इच्छाले भेट सम्भव हुँदैनथ्यो । कांग्रेस सभापति देउवाजीको पनि इच्छा भएका कारण उहाँले समय दिनुभयो र भेटवार्ता भएको हो,” झाले बाह्रखरीसँग भने, “भेटमा स्वाभाविक राजनीतिक विषयमा चर्चा भयो ।”
सरकारमा सहभागी हुनेबारे रास्वपा
रास्वपाले आन्तरिक समीक्षा बैठकमार्फत् कांग्रेस वा एमालेलाई विश्वासमा राख्दै अघि बढ्नुपर्ने निस्कर्ष निकालेको थियो । त्यसका लागि सत्ता सहकार्य महत्वपूर्ण हुने भन्दै दुई पार्टीमध्ये कोसँगको सहकार्य लाभदायी हुने भन्नेसम्मको बहस भएको थियो ।
“रविजीको मुद्दाले रास्वपालाई घाटा भएको छैन । हाम्रा मतदाता बढेकै छन्,” रास्वपाका एक नेताले बाह्रखरीसँग भने, “सरकारमा जाँदा हाम्रो मतदाता घट्ने छन् । कांग्रेससँग सरकारमा गए २० प्रतिशत र एमालेसँग सरकारमा गए ३० प्रतिशत बढी मत काटिन्छ भन्ने हाम्रो आन्तरिक बुझाइ छ ।”
दुई पार्टीमध्ये कसैसँग सहकार्य नगर्दा रवि लामिछाने अन्तिम फैसलाबाट पनि राजनीतिमा फर्कने सम्भावना कम भएको उनीहरुको निस्कर्ष छ ।
यसरी सक्रिय भएर कांग्रेसबाट टाढिएका थिए वाग्ले
डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले पेशाले शिक्षक थिए । शिक्षक हुँदा नेपाली कांग्रेसमा आवद्ध उनी बूढानिलकण्ठ स्कुलमा पढाउँथे । त्यहीँबाट विद्यालय शिक्षा पूरा गरेका स्वर्णिम वाग्लेलाई पनि कांग्रेसप्रति लगाव थियो ।
विद्यालयपछि विश्वविद्यालय निम्ति वाग्ले लण्डन स्कुल अफ इकोनोमिक्स अध्ययन गर्न गए । त्यहाँ स्नातकसम्मको अध्ययनपछि स्नातकोत्तरका लागि अमेरिकाको हार्वड विश्वविद्यालय रोजेका थिए ।
अस्ट्रेलियाको नेशनल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । पढाइपछि जागिर खाएर विदेशतिरै बसिरहेका वाग्लेलाई सुशील कोइरालाको प्रधानमन्त्रीकालमा बोलाएर राष्ट्रिय योजना आयोगको सदस्य बनाइयो ।
योजना आयोगको सदस्य हुने भएपछि उनले अमेरिका बसाइ छाडेका थिए । देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । ०७४ साउनदेखि फागुनसम्म योजना आयोगको उपाध्यक्ष रहेका वाग्ले ०७६ सालको कोरोना महामारीका बेला युएनडीपीको एसिया प्यासिफिक क्षेत्र हेर्ने आर्थिक सल्लाहकारका रुपमा नियुक्त भएका थिए ।
देउवा पत्नी आरजु राणाको कार्यशैलीका कारण देउवा टिमबाट बाहिरिएका हुन्, वाग्ले । देउवा समूहबाट अलग हुँदै डा. शेखर कोइराला र गगन थापा टिममा पुगेका डा. स्वर्णिम चितवन– १ मा चुनाव लड्न चाहन्थे ।
कोइराला र थापाले त्यहाँको टिकटका लागि प्रयत्न गरे । तर, देउवा टिमले वाग्लेलाई पन्छाउँदै डा. विश्व पौडेललाई टिकट दियो । आखिर पौडेल पराजित हुन पुगे ।
रामचन्द्र पौडेल राष्ट्रपति भएका कारण तनहुँ–१ मा पनि उपनिर्वाचन हुँदै थियो । वाग्लेले एउटा म्यासेज लेख्दै कांग्रेस पार्टी परित्याग गरी रास्वपा प्रवेश गर्दै तनहुँ–१ मा उमेदवार बने, विजयी बने ।
पार्टी छाड्नुअघि नै कांग्रेस सभापति देउवासँग टाढिएका वाग्लेले पार्टी छाडेको पनि दुई वर्ष पूरा भएपछि देउवासँग भेट गरेका हुन् ।
के भनेका थिए डा. खड्कासँग डा. स्वर्णिमले ?
कांग्रेस नेता डा. नारायण खड्कासँग डा. वाग्लेले देउवासँग भेटको वातावरण बनाइदिन आग्रह गरेका थिए । वाग्लेले डा. खड्कासँग लामो समयदेखि देउवासँग भेट हुन नसकेको र भोलिका दिनमा राजनीतिमा सहकार्य आवश्यक पर्ने हुँदा भेटवार्ता गर्नुपरेको बताएका थिए ।
“राजनीतिमा कुनै पनि बेला सहकार्य गर्नुपर्ने हुँदा भेटघाट अघि बढाऊँ भन्ने लाग्यो, भेटघाट गर्न समय मिलाइदिनु पर्यो,” डा. खड्काले वाग्लेको भनाइ उद्धृत गर्दै भने ।
खड्काले भने, “त्यसो भनेपछि मैले सभापति देउवासँग समय मिलाउँदै डा. स्वर्णिम वाग्लेलाई लिएर गएको हुँ ।” उक्त भेटवार्ता झन्डै एक घण्टा चलेको जानकारी खड्काले दिए ।