रामेछापको मन्थली नगरपालिकामा तामाकोसी नदीमा निर्माणाधीन मोटर चल्ने पुल सम्पन्न नहुँदै पहिले भत्किएकै विन्दुमा फेरि भत्किएको छ । यसरी निर्माणाधीन संरचना एउटै ठाउँमा पटकपटक बिग्रनुको कारण भवितव्यमात्र पक्कै होइन ।
तामाकोसीमा बनाइँदै गरेको मोटर चल्ने पुलको एउटा भाग आइतवार बिहान भाँचिएको छ । यही पुल गत वैशाख २६ गते पनि भाँचिएको थियो । त्यही भागको पुनःनिर्माण भइरहँदा अहिले फेरि भत्किएको हो ।
नदीमा निर्माण गरिने मोटर चल्ने पुलको लागत पनि धेरै नै हुने गर्छ । यस्तै, पुल निर्माण गरिसक्न पनि वर्षौं लाग्ने गरेको देखिन्छ । त्यसमाथि निर्माण सकिँदा प्रायः लागत र समय निकै बढिसक्छ ।
तामाकोसीको आइतवार भत्किएको यो पुल २०८२ को भदौमा निर्माण गरिसक्ने सर्तमा ३ वर्षअधि २२ करोड ५५ लाखभन्दा बढीमा ठेक्कामा दिइएको थियो । तर, पुल एउटै ठाउँमा दुईपटक भत्किँदा डिजाइन र गुणस्तरमा प्रश्न उठेको हो ।
पक्कै पनि मोटरचल्ने पुलको डिजाइन सजिलो विषय होइन । विशेषगरी लागत र सुरक्षा दुवैमा सन्तलन कायम गर्नु कठिन हुन्छ । नेपालमा त त्यसमाथि प्राविधिकले राजनीतिक दबाबको पनि सामना गर्नुपर्छ ।
सम्भवतः यस्तै कुनै कारणवश सम्झौता गरिँदा पुलको डिजाइन र लागत अनुमान तयार गर्दा त्रुटि भएको हुनुपर्छ । नभए, ठेकेदारले निर्माण सामग्री, प्रविधि तथा प्रक्रियामा समेत हेलचेक्य्राइँ गर्दा पनि यस्तो अवस्था उत्पन्न भएको हुनसक्छ ।
ठेक्का लगाउँदा घटाघट गराउनुपर्ने कानुनी व्यवस्था र सार्वजनिक निर्माणका लगभग सबै योजनामा सरकारी अधिकारीलाई कमिसन बुझाउनै पर्ने अघोषित प्रचलनका कारण पनि निर्माणको गुणस्तरमा सम्झौता हुने गर्छ । तामाकोसीको पुलमा पनि यस्तै केही भएको हुनुपर्छ ।
धन्न पुल बनिनसक्दै भत्क्यो र मानवीय क्षति भएन । यस्तै, सरकारी अधिकारीहरू गम्भीर र इमानदार भइदिए भने त्रुटि सच्याएर भविष्यको भयावह दुर्घटना पनि टार्ने अवसर मिल्यो । नत्र, यति कमजोर संरचना भएको पुल भत्केर कुनै पनि घडीमा अकल्पनीय दुर्घटना हुनसक्थ्यो ।
यसैले तामाकोसी पुलको डिजाइनदेखि नै पुनः राम्ररी अध्ययन र मूल्याङ्कन गर्नुपर्छ । केही पैसा जोगाउने वा कमाउने र समय बचाउने लोभमा पुलको गुणस्तरमा कुनै सम्झौता गर्नु जनताविरुद्ध अपराध गरेजस्तै हो ।
डिजाइनमा नै त्रुटि भेटियो भने सम्बन्धित प्राविधिकहरूलाई नसिहत पनि दिनुपर्छ । यस्तै छानबिनका क्रममा ठेकेदारको बदमासी वा हेलचेक्य्राइँ भेटियो भने कानुन बमोजिम कारबाही पनि गरिनुपर्छ । नत्र, यसरी निर्माणकै क्रममा समेत पटकपटक भत्कने भौतिक संरचना बनाइने क्रम रोकिनेछैन ।