site stats
बाह्रखरी :: Baahrakhari
देश
हैदराबादमा हिरा लुट्नेको खोजी गर्दै काठमाडौं आएको थियो डीएसपीको टोली, यसरी परे नियन्त्रणमा

काठमाडौं । जेठ ३० गते शुक्रबार काठमाडौंको गोलढुंगा क्षेत्रबाट नेपाल प्रहरीले भारतीय प्रहरीका डीएसपीसहितको टोलीलाई पक्राउ गर्‍यो ।  भारतको हैदराबादमा भएको एक लुटपाटमा संलग्न भनिएकाहरुको खोजीका लागि सिधै काठमाडौं आएका डीएसपी नेपाल प्रहरीको नियन्त्रणमा परेका हुन् ।

नियन्त्रणमा परेका भारतीय हैदराबाद प्रहरीको टोली दैलेखसमेत पुगेको खुलेको छ ।  हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित चारजनाको समूहलाई काठमाडौं प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । हैदराबादमा भएको लुटपाट घटनाका आरोपीलाई नियन्त्रणमा लिन तिनीहरू काठमाडौं आएका थिए । 

उक्त टोली वैशाखमै दैलेख पनि पुगेको दैलेख प्रहरी स्रोतले बाह्रखरीलाई जानकारी दियो ।  दैलेख प्रहरीका एक अधिकारीका अनुसार, उनीहरू चोरीका आरोपीबारे जानकारी लिन वैशाख दोस्रो साता दैलेखको आठबिसकोट नगरपालिका–७ राकम पुगेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय प्रहरीको टोलीले त्यतिबेला आठबिसकोटका केही सुन चाँदी पसलका सञ्चालकमाथि सोधपुछ गरेका थिए ।  सुनचाँदी पसल सञ्चालकमध्ये एक व्यवसायीका अनुसार, भारतीय प्रहरीको टोलीले मोबाइलमा फोटो देखाउँदै एकजना नेपालीबारे जानकारी मागिरहेका थिए ।

ती व्यवसायी भन्छन्, ‘‘उनीहरूले आफूहरू भारतीय प्रहरी हुँ त भनेनन् । तर, एकजना हाम्रै छिमेकीको फोटो देखाएर सोधपुछ गरेका थिए ।” उनका अनुसार ती प्रहरीले सुन र हिरा खरिद गर्नुभएको छ ? भनेर सोधपुछ गरेका थिए ।

त्यही टोली लुटपाटमा संलग्न आरोपी दैलेखमा फेला नपारेपछि काठमाडौं आएका हुन् ।  उनीहरूले दैलेखका अन्य दुईजना युवाहरूलाई सुराकीको रुपमा प्रयोग गरेर आरोपीबारे खोजी गरेका थिए । मुख्य आरोपी सुर्खेत रहेको सूचनापछि भारतीय प्रहरीले उनी निकट एक युवा र उनकी श्रीमतीलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो । 

तिनीहरू सुर्खेत फर्कँदै गर्दा स्वयम्भु प्रहरीले गोलढुंगाबाट भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले ललितपुरको बंगलामुखी मन्दिर नजिकबाट बा १७ च ९९७१ नम्बरको स्करर्पियो गाडीमा राखेका थिए । 

स्वयम्भु प्रहरीका प्रमुख डीएसपी उद्धव सिंह भाटले भने भारतीय प्रहरीको टोली नियन्त्रणमा लिएकोबारे अनभिज्ञता प्रकट गरेका थिए ।

उनले भने, ‘‘भारतीय प्रहरी नियन्त्रणमा परेकोबारे मलाई जानकारी छैन । मेरो टोलीले होइन । अरु प्रहरीले गरेको भए सम्बन्धित प्रहरीलाई सोध्नु होला मेरो टोलीले गरेको छैन ।’’ जिल्ला प्रहरी परिसरका एसपी अपिल बोहोरा चारजना नेपालीबारे केही सूचना आएपछि भेरिफाई मात्रै गरेर छाडिएको बताउँछन् । 

प्रहरी उच्च स्रोतले भने भातरीय प्रहरीको टोली नियन्त्रणमा परेको र भारतीय दूतावासका अधिकारीलाई जिम्मा लगाएको पुष्टि गरे ।

ती उच्च प्रहरी अधिकारीले भने, ‘‘उनीहरू नेपालीलाई पक्राउ गरेर भारत लैजान आएका होइनन् । नेपालीले हैदराबादको एक घरमा लुटपाट गरेका रहेछन् । केही सामानहरू फिर्ता लिन सकिन्छ कि भनी नेपाल आएका हुन् । यस्तै घटनामा हामीले चोरी गरेर ल्याएका सामान दूतावसमार्फत फिर्ता पनि गर्दै आएका छौँ । तर, उनीहरू दूतावासमार्फत नआउँदा नियन्त्रणमा परे ।’’

ती अधिकारीले नेपालीलाई भारत प्रहरीलाई बुझाउने कुरा कल्पनाबाहिर रहेको बताए ।

उनले थपे, ‘‘खुला सीमाका कारण नेपालीबाट भारतमा अपराधका घटना र नेपालमा भारतीयबाट हुने गरेका छन् । यसमध्ये पनि आर्थिक र लुटपाट, चोरीका घटनामा कारबाहीका लागि आफ्ना नागरिकलाई पठाउनेभन्दा पनि सामान फिर्ता हुने अवस्थामा दुवै देशका प्रहरीको समन्वयमा हुन्छ । हाम्रो टोली पनि भारत जाने गरेकै छ ।’’

यसरी परेका थिए भारतीय प्रहरी नियन्त्रणमा ?

हैदराबाद प्रहरीले लुटपाट गर्ने नेपाली समूहबारे सबै सूचना पाएको थियो । 

भारतीय प्रहरीको दाबीअनुसार दैलेखका लोकेन्द्र शाहीको समूहले हैदराबादको एक घरबाट वैशाख पहिलो साता चार करोड भारतीय रूपैयाँ बराबरको सुन र हिराका गहना चोरी गरी नेपाल छिरेका थिए ।

शाहीसहित अछाम र कालिकोटका युवाहरू पनि चोरीमा संलग्न थिए ।  उनीहरूको खोजीका लागि भारतीय प्रहरीको टोली दैलेखसमेत पुगेको थियो । दैलेखमा लोकेन्द्र शाही फेला नपरेपछि उनीहरू काठमाडौं आएका हुन् ।

लोकेन्द्रको खोजीका लागि दैहरावाद प्रहरीले दैलेखकै दुई जना युवाहरूलाई सुराकीका रुपमा प्रयोगसमेत गरेका थिए ।  उनीहरू दुई जनाकै सूचनाका आधारमा भारतीय प्रहरीको टोलीले ललितपुरबाट लोकेन्द्र शाहीनिकट युवा प्रशान्त शाहीलाई नियन्त्रणमा लियो ।

लोकेन्द्र शाही सुर्खेत रहेको सूचनापछि भारतीय प्रहरीको टोलीले प्रशान्त शाही पनि गाडीमै राख्यो ।  उनकी श्रीमतीले प्रशान्त एक्लै नपठाउने भन्दै आफूसमेत गाडीमा चढिन् । तर, आफू सुर्खेत जान लागेको खबर आफन्तलाई सुनाइन् ।

प्रशान्तका आफन्तले भारतीय प्रहरी चढेको स्करर्पियो पिछा गर्न तीनवटा मोटरसाइकल प्रयोग गरेका थिए ।  तर, उनीहरूलाई शंका लागेपछि प्रहरीको हट लाइन १०० नम्बरमा फोन गरे । त्यही सूचनाका आधारमा प्रहरीको टोलीले चेक प्वाइन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रशान्तका एक आफन्तले आफूलाई उनीहरूले केही गर्लान् भन्ने डर लागेर प्रहरीको हट लाइनमा फोन गरेको बताए ।

उनले भने, ‘‘हामीलाई खासमा उनीहरू को हुन् ? किन गाडीमा हाल्यो ? केही थाहा थिएन । खाली सुर्खेत जाने भनेपछि हामी आएका थियौँ । तर, उनीहरूले केही सल्लाह नै नगरी गाडी कुदाउन थालेपछि प्रहरीको हटलाइनमा खबर गरेका हौँ ।’’
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्