
काठमाडौं । ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यलयमा सम्पन्न पहिलो खेलमा श्री कुमारीविरुद्ध ५–३ को जित निकाल्दै ब्वाइज युनियन लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
ब्वाइज युनियनको जितमा दिव्यविक्रम चौधरीले दुई गोल गरे । त्यसैगरी टोलीका सुसन लामा, सुजित बुढाथोकी र विनोद राईले समान एक गोल गरे ।
कुमारीका लागि टोलीका पाल्देन तामाङ, अरुन शाह र यमन महर्जनले समान एक गोल गरे ।
खेलको १९औँ मिनेटमा पाल्देनले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै श्री कुमारीलाई अग्रता दिलाए । २४औँ मिनेटमा ब्वाइज युनियनका सुजीतले गोल गर्दे टोलीलाई खेलमा फर्काए ।
३२औँ मिनेटमा विनोदले टोलीलाई २–१ को अवस्थामा राखे । ५७औैँ मिनेटमा दिव्यविक्रमले अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।
६३औँ मिनेटमा कुमारीका अरुणले टोलीका निम्ति एक गोल फर्काए ।
८७औँ मिनेटमा सुसनले ब्वाइज युनियनलाई गोल गर्दै ४–२को अवस्थामा राखे । ८९औँ मिनेटमा कुमारीका यमनले टोलीका निम्ति एक गोल फर्काए ।
इन्जुरी टाइममा ब्वाइज युनियनका दिव्यविक्रमले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै ब्वाइज युनियनले तालिकामा १९ अंक बनाएको छ । तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले पाँचौँ जित निकाल्दै ११ खेलमा पाँच जित, चार बराबरी र दुई हारसहित १९ अंक जोडेको हो । तेस्रो स्थानमा रहेको ब्वाइज युनियन दोस्रो शीर्ष टोली भगवतीसँग तीन अंक पछि छ ।
पराजित कुमारी भने लिगको १०औँ स्थानमा झरेको छ । कुमारीले छैटौँ हार व्यहोर्दे ११ खेलमा चार जित, एक बराबरी र ६ हारबाट १३अंक बनाएको हो ।