
काठमाडौं । सांसदहरूले बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
सांसदहरूले व्यावहारिक रूपमा जनताको मन छुने गरी अधिकतम प्रतिफल हासिल गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट खर्च भएर मात्रै नहुने भन्दै त्यसले दिने प्रतिफल बजेटको मुख्य उद्देश्य भएको बताए ।
सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्नेमा उनको जोड थियो । उनले नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजनाका साथ सरकार अघि बढ्नुपर्ने सुझाव दिए ।
एमाले सांसद गोकर्णराज विष्टले नेपालमा देखिएको विकासका गम्भीर चुनौती चिर्न सक्ने गरी सरकारले आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिए ।
आयात निर्यातको फराकिलो अन्तर, रोजगारीको सिर्जना, सुशासनको चुनौती, गरिबीको विकराल अवस्थालगायतलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।
आर्थिक असमनताको अन्त्य गर्दै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएको उनले जिकिर गरे ।
त्यस्तै, माओवादी सांसद शक्तिबहादुर बस्नेतले सहकारी क्षेत्रको सहभागितामा मिश्रित अर्थव्यवस्थामा धेरै अलमिलनुपर्ने अवस्था नरहेको बताए । आर्थिक विकासको नयाँ मोडल आवश्यक चाहिएको अवस्थामा सुशासन अनिवार्य सर्त भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले औँल्याए ।
उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दा उत्पादनलाई ध्यानमा राखेर प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।