
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि यसबारेमा पार्टीले छलफल सुरु गरेको छ ।
माओवादी केन्द्रका शीर्ष नेताहरूको आन्तिरक बैठक अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ । बैठकले सर्वोच्चको फैसलाबारे पार्टीको धारणा बनाउने नेताहरूले बताएका छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्नेछ ।
यद्यपि, माओवादी केन्द्रका नेताहरूले आदेश राम्रो नभएको बताइसकेका छन् । द्वन्द्वकालीन घटना ब्युत्याउने प्रयास भएको माओवादी नेताहरूको प्रतिक्रिया छ ।
पूर्वसभामुख समेत रहेका सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले ब्युत्याइदिएको हो । काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले हत्या गरिएका लामाकी पत्नी पूर्णीमायाको रिटमा उत्प्रेषणको आदेश जारी गर्दै सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खुला गरिदिएको थियो ।