
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पारे । वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाए ।
उनले सत्ता गठबन्धनभित्रै एक मत नरहेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा सरकारमै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताए । विद्युत् प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गरे ।
“अहिले सरकारमा जाने कुरा छैन । सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौँ । नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न । प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न । गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न । यसले के देखाउँछ भने जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ,” उनले भने ।
उनले हालसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गरे ।