site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी, सातजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले धनुषाबाट सातजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका–१ बस्ने २० वर्षीय रामकुमार महरा, सर्लाही बरहथवा नगरपालिका–७ बस्ने २२ वर्षीय नितेशकुमार साह, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिरकुमार महतो र गौशाला नगरपालिका–२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्स्टाग्राम, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत सर्वसाधारण नागरिकलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडालगायत सरसामान सस्तोमा दिने भनी विश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले हालसम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजको प्रयोग गरी ठगी गरेको, सामाजिक सञ्जालमा पोस्ट गरिएका सामानको फोटो तथा भिडियोबाट सर्वसाधारण नागरिकले उक्त सामान खरिद गर्ने भनी सम्पर्क गर्दा अग्रीम भुक्तानी पठाउन लगाउने गरेको, सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तीय संस्था तथा वालेटमा खाता खोल्न लगाई ती खातामा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै उनीहरूको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तीय संस्था तथा वालेट आईडी समेत गरी एक सय ८७ वटा खाताको विवरण फेला परेको र उक्त खाताबाट हालसम्म दुई करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरू उपर ठगी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्