
काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी 'ए टू जेड' मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो 'सप इन सप' सञ्चालन गरेको हो । एक कार्यक्रमबीच बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले एनसेल सपको उद्घाटन गरे ।
सपबाट ग्राहकहरूले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्यूअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् ।
“अब हाम्रा ग्राहकहरूले सबै ग्राहक सेवाहरू नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो पहिलो उदाहरण हो । यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सपहरू सञ्चालनमा ल्याउने योजनाअनुसार काम गरिरहेका छौँ, जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्मअनुसार ग्राहकहरूलाई सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,” रोड्रिगेजले भने ।
रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकहरूलाई विभिन्न उपहारहरू पनि वितरण गरेका थिए ।
आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यसले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।