site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी जासुसीबारे डेनमार्कले माग्यो राजदूतसँग स्पष्टीकरण 

काठमाडौं । ग्रीनल्यान्डमा अमेरिकी जासुसी सम्बन्धमा डेनमार्कले अमेरिकी राजदूतसँग स्पष्टीकरण मागेको छ । 

डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि अमेरिकी गुप्तचर संस्थाहरूलाई ग्रीनल्यान्डमा ध्यान केन्द्रित गर्न निर्देशन दिइएको भन्ने समाचारको विषयमा अमेरिकी राजदूतलाई बोलाउने घोषणा गरेका छन् ।

अमेरिकाको वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारका सम्बन्धमा जवाफ दिँदै यसले धेरै चिन्तित बनाएको बताउँदै डेनमार्कको मित्रराष्ट्रविरुद्ध जासुसी नगर्ने नीति रहेकामा अमेरिकी कदमप्रति उनले प्रश्न उठाए । 

Argakhachi Cement Island Ad

वाल स्ट्रिट जर्नलको समाचार अनुसार अमेरिकी गुप्तचर संस्थाहरूलाई अर्ध–स्वायत्त ग्रीनल्यान्डको स्वतन्त्रता आन्दोलन र त्यहाँको खनिज सम्पदा निकाल्ने अमेरिकी लक्ष्यमा केन्द्रित गर्न भनिएको छ ।

अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख टुल्सी गाबार्डले भने वाल स्ट्रिट जर्नलमाथि गोप्य जानकारी प्रकाशन गरेर राजनीतिकरण गरी ट्रम्पलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइन् । 

समाचारलाई अस्वीकार गर्दै अखबारले कानुन उल्लंघन गरी राष्ट्रिय सुरक्षा र लोकतन्त्रलाई खतरा पुर्‍याएको आरोप लगाइन् ।

पोल्यान्डको वार्सामा युरोपियन युनियनका मन्त्रीहरूको बैठकमा सहभागी रासमुसेनले वाल स्ट्रिट जर्नलको खबरलाई ‘विचलित बनाउने खालको’ भएको बताए ।
 
उनले भने, “हामीले अमेरिकी कार्यवाहक राजदूतलाई विदेश मन्त्रालय बोलाएर यो जानकारी पुष्टि गर्ने प्रयास गर्नेछौँ । यसलाई खण्डन गर्नेहरू कम देखिन्छन्, जसले चिन्ता बढाएको छ ।” 

अमेरिकी राष्ट्रपति ट्रम्पले गत आइतबार एनबीसीलाई अन्तर्वार्ता दिँदै ग्रीनल्यान्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने विकल्प पनि बाँकी रहेको बताएका थिए । 

“मैले यो गर्छु भनेको होइन, तर कुनै पनि सम्भावनालाई नकार्दिनँ । हामीलाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्यान्ड चाहिन्छ,” उनले भने, “त्यहाँ सानो जनसंख्या छ, जसलाई हामीले हेरचाह गर्नेछौँ । तर, हामीलाई त्यो द्वीप चाहिन्छ ।” बीबीसी
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्