site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशका संस्थापक राष्ट्रपति रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज
अगस्ट २०२४ मा, ढाकामा शेख मुजिबरको प्रतिमा तोडफोड गर्दै प्रदर्शनकारी ।

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा प्रथम राष्ट्रपति शेख मुजिबर रहमानको ‘राष्ट्रपिता’को दर्जा खारेज गरेको छ । एक अध्यादेश जारी गर्दै मंगलबार कानुनबाट ‘राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमान’ शब्द हटाइएको छ।

यसका साथै १९७१ को स्वतन्त्रता सेनानी र संघर्षको परिभाषा पनि परिवर्तन गरिएको छ । हालै १ जुनमा मोहम्मद युनुसको सरकारले नयाँ मुद्रा नोटबाट शेख मुजिबर रहमानको तस्बिर पनि हटाउने निर्णय गरेको थियो । अब नयाँ नोटहरूमा हिन्दू र बौद्ध मन्दिरहरूको तस्बिर पनि छापिनेछ । यद्यपि, पुराना नोट र सिक्का पनि चलनमा रहनेछन् ।

Argakhachi Cement Island Ad

स्वतन्त्रता सेनानीको नयाँ परिभाषाअन्तर्गत, सन् १९७१ को मार्च २६ देखि डिसेम्बर १६ बीचमा युद्धको लागि तयारी गर्ने, भारतमा तालिम शिविरहरूमा भाग लिने र पाकिस्तानी सेना र यसका सहयोगीविरुद्ध हतियार उठाउने नागरिकलाई स्वतन्त्रता सेनानी मानिनेछ ।

नयाँ परिभाषाअन्तर्गत, सशस्त्र बल, पूर्वी पाकिस्तान राइफल्स (ईपीआर) प्रहरी, मुक्तिवाहिनी, मुजिबनगर सरकार र यसका मान्यता प्राप्त सेना, नौसेना कमान्डो, किलो फोर्स र अन्सारका सदस्यलाई पनि स्वतन्त्रता सेनानीको श्रेणीमा समावेश गरिएको छ । 

युद्धको समयमा पाकिस्तानी सेना र उनका सहयोगीहरूबाट यातना पाएका महिलाहरू (वीरंगना)लाई पनि स्वतन्त्रता सेनानी मानिनेछ । यसका साथै युद्धको समयमा घाइते बंगला लडाकुहरूको उपचार गर्ने डाक्टर, नर्स र चिकित्सा सहायकहरूलाई पनि स्वतन्त्रता सेनानी मानिनेछ ।

पहिले स्वतन्त्रता संग्राम शेख मुजिबरहमानको अपिलमा सुरु भएको थियो। अब नयाँ परिभाषामा उनको नाम हटाइएको छ । अब यसलाई २६ मार्च देखि १६ डिसेम्बर १९७१ सम्म चलेको सशस्त्र संघर्षको रूपमा परिभाषित गरिएको छ । 

यो संघर्ष बंगलादेशका जनताले पाकिस्तानी सेना र यसका स्थानीय सहयोगीविरुद्ध समानता, मानवीय मर्यादा र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक देश स्थापना गर्न लडेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्