
काठमाडौं । बेलायतले युक्रेनलाई २०२६ अप्रिलसम्म एकलाख ड्रोन आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतले युक्रेनमा ड्रोन आपूर्तिमा १० गुणाले वृद्धि गर्न लागेको हो । आफूले उपलब्ध गराउने मानवरहित हवाई यानले युद्ध सञ्चालनको तरिका नै परिवर्तन गरेको दाबी बेलायतको छ ।
यसअघि, बेलायत सरकारले सोमबारबाट एक रणनीतिक रक्षा रिभ्यू लागु गरेको थियो । यसले उदयोन्मुख सैन्य खतरा, सम्भावित रुसी आक्रमणलगायत प्रतिकार गर्न अत्यधिक घातक र प्रविधिमार्फत सञ्चालित सेना निर्माण गर्न जोड दिएको छ ।
बेलायत युक्रेनको प्रमुख पश्चिमा समर्थक देशमध्येको एक हो । बेलायतले रुसी आक्रमणविरुद्ध युक्रेनको तीन वर्षभन्दा बढीको युद्धको अनुभवबाट सिक्ने योजना बनाएको छ । यसमा ड्रोनहरूले युद्धक्षेत्रको स्वरूप नै परिवर्तन गरेका छन् ।
सरकारले ४७३ मिलियन डलरको ड्रोन प्याकेज युक्रेनलाई ४.५ अर्ब पाउन्डको व्यापक सैन्य सहयोग अभियानको एक अंश भएको जनाएको छ ।
बेलायतका रक्षासचिव जन हिलेले ब्रसेल्समा ५० राष्ट्रको सहभागितामा जर्मनीसँग संयुक्तरूपमा आयोजना भइरहेको युक्रेन डिफेन्स कन्ट्याक्ट समूह बैठकमा यो घोषणा गर्ने बताइएको छ । बैठकअगाडि हिलेले भने, “बेलायतले यो वर्ष युक्रेनलाई लाखौँ ड्रोन आपूर्ति गरेर आफ्नो समर्थन बढाइरहेको छ ।”
ड्रोनबाहेक बेलायतले जनवरीदेखि युक्रेनलाई एकलाख ४० हजार तोपगोला पठाइसकेको छ । यो वर्ष युक्रेनी सैनिकहरूको प्रशिक्षणमा थप २४७ मिलियन पाउन्ड खर्च गर्ने बताएको छ ।
रोयटर्सबाट ।