
काठमाडौं । अमेरिका र चीनका अधिकारीहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध कम गर्न यसै सातादेखि स्विजरल्यान्डमा वार्ता सुरु गर्ने तयारी गरेका छन् ।
चीनका उपप्रधानमन्त्री हे लिफेङले मे ९–१२ सम्म स्विजरल्यान्डमा हुने वार्तामा सहभागिता जनाउने चीनको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले वासिङटनको प्रतिनिधित्व गर्नेछन् ।
जनवरीमा ह्वाइट हाउसमा फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा १४५ प्रतिशतसम्मको नयाँ आयात शुल्क लगाएका छन् । यसको प्रतिकारमा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाएको छ ।
चीनका उपराष्ट्रपति हान झेङले जनवरीमा ट्रम्पको शपथ ग्रहणमा सहभागी भएदेखि यो दुई देशबीच पहिलो उच्चस्तरीय सम्पर्क हो ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले अन्तर्राष्ट्रिय आर्थिक प्रणालीलाई अमेरिकी हितमा पुनः सन्तुलन गर्ने इच्छा रहेको बताए । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, “यो वार्ता तनाव कम गर्ने केन्द्रित हुनेछ, ठूलो व्यापार सम्झौताका लागि होइन । तर, अगाडि बढ्नुअघि तनाव घटाउनैपर्छ ।”
बुधबार बिहान चीनको व्यापार मन्त्रालयका प्रवक्ताले भने, “अमेरिका वार्तामार्फत विवाद समाधान गर्न चाहन्छ भने एकतर्फी आयात करको आफ्नै र विश्वमा पारेको नकारात्मक प्रभावलाई स्वीकार्नैपर्छ ।”
चीनको राज्य नियन्त्रित मिडियाले बताएअनुसार विश्वको अपेक्षा, देशको हित र अमेरिकी व्यवसायको अपिललाई विचार गर्दै चीनले अमेरिकासँग वार्ता गर्ने निर्णय गरेको हो । चीन वार्ताका लागि खुला रहेको तर व्यापार युद्ध जारी रहे अन्त्यसम्म लड्न तयार रहेको चिनियाँ पक्षको भनाइ छ ।
बीबीसीबाट ।