
काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । काठमाडौंमा कार्यरत अरन्दाराले आईएफसीको लगानी विस्तार, सल्लाहकार सेवा प्रवर्धन तथा विकास प्रभाव अभिवृद्धि गर्ने कार्यमा नेतृत्व दिनेछिन् ।
श्रीलंकाली नागरिक अरन्दारा सन् २०११ देखि आईएफसीमा आबद्ध छिन् । उनले विश्व बैंक समूहअन्तर्गत दक्षिण एसियाको देशीय सल्लाहकार तथा अर्थतन्त्र टोलीमा काम गर्दा वित्तीय समावेशिता, कृषि व्यवसाय सुदृढीकरण र लगानी वातावरण सुधारमा योगदान गरेकी थिइन् ।
“नेपालसँग उल्लेख्य सम्भावना छन् । पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तीय क्षेत्रजस्ता क्षेत्रमा हामी साझेदारीका माध्यमबाट ती सम्भावना साकार पार्न प्रतिबद्ध छौँ,” उनले भनिन् ।
आईएफसीले विगत पाँच वर्षमा नेपालमा करिब ७० करोड अमेरिकी डलर लगानी गरेको छ । जसमा स्वच्छ ऊर्जा, निजी इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रसम्बन्धी परियोजना समावेश छन् । सन् २०२४ को आर्थिक वर्षमा मात्र आईएफसीले पूर्वाधार, उत्पादन/कृषि व्यवसाय/सेवा क्षेत्र र वित्तीय संस्थामा ८४ मिलियन डलर लगानी गरेको जनाएको छ ।
आईएफसी विश्वका १०० भन्दा बढी देशमा निजी क्षेत्र विकासमा क्रियाशील छ ।