
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममा सरकारले स्वार्थ समूहलाई प्राथमिकता दिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालका लागि समृद्धिका लागि आवश्यक कार्यक्रममा सरकारले कैँची चलाएको बताएका हुन् ।
ग्रामीण भेगका कृषक र जनताको भावना विपरीत नीति तथा कार्यक्रम बनेको पनि उनले बताए । “सरकारले जनतासँग प्रत्यक्ष जनतासँग जोडिएका समुदाय जोडिएका र प्रत्यक्ष लाभ दिने नेपालको समृद्धिका लागि अति आवश्यक कार्यक्रममाथि पनि कैँची चलाएको छ,” उनले भने, “तर, स्वार्थ समूहका लागि भने कानुनी रूपमा नै ढोका खोल्ने काम गरेको छ ।”
त्यस्तै, भूमाफियालाई फाइदा हुनेगरी सरकारले नीति बनाएको पनि उनले बताए । “उदारवादी कृषि उत्पादनबाट आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिन्न, तथ्यलाई उपेक्षा गर्दै भूमाफिया र बिचौलियालाई लाभ हुनेगरी नीतिगत प्रस्ताव गरेको छ,” उनले भने, “स्थानीय तहबाट हुन सक्ने व्यवस्थालाई किन केन्द्रीकृत तहको आवश्यकता परेको हो ? मैले बुझ्न सकेको छैन ।”
गत बजेटबाट प्रस्ताव गरेका कार्यक्रम पनि यो सरकारले फालेको उनले बताए । उत्पीडित, दलित र उपेक्षित समूहलाई यो सरकारले प्राथमिकतामा राख्न नसकेको उनले बताए ।