
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै हालका असन्तुष्टि हट्ने बताएका छन् । शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रमुख दलका शीर्ष नेताले आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै हालका आन्दोलन हराउने जिकिर गरे । “नेपालका ठूला पार्टीका ठूला नेताहरूले, रेस्पेक्ट गर्छु म उहाँहरूलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ,” उनले भने, “भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन ।”
उनले नेताहरूले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए । “यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो,” उनले भने ।
महामन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्नेबित्तिकै सबै समस्या समाधान भने नहुने स्पष्ट पारे । तर, धेरै समस्या बुझेर समाधान गर्न सकिने उनले बताए । न्युज एजेन्सी नेपाल