
सुनसरी । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको उक्त बाटो शनिबार (जेठ १७) साँझदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको हो ।
अस्थायी डाइभर्सन गरेर साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो ।
सडक अवरुद्ध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो । रासस