
काठमाडौं । वर्षाका कारण मेलम्चीमा बाढी आएसँगै पानी धमिलिन थालेपछि काठमाडौंमा पानी आपूर्ति बन्द गरिएको छ ।
धमिलो पानी आउँदा तत्कालका लागि पानी बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।
“मेलम्ची नदीमा बाढीसँगै धमिलो पानी आएको छ । धमिलो पानीलाई फिल्टर गने क्यापासिटी हाम्रो ट्रिटमेन्ट प्लान छैन । त्यसैले पानी डाइभर्ट गरेका छौँ । पुनः पानी वितरण गर्न वर्षाअनुसार हुन्छ । वर्षा रोकिएको खण्डमा केही दिनमै पुनः पानी वितरण गर्ने अवस्था हुन्छ,” राईले बाह्रखरीसित भने ।
मेलम्ची नदीमा पानीको बहाव पनि बढेकाले खानेपानी आयोजनाको संरचनामा क्षति पुग्नबाट रोक्न पानी बन्द गर्नुपरेको केयूकेएलले जनाएको छ ।
केही दिनपहिले पनि वर्षा हुँदा केयूकेएलले पानी वितरण बन्द गरेको थियो । क्षेत्रपाटी, महांकाल, भक्तपुर, मध्यपुर ठिमी, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौवटा शाखाबाट पानी वितरण हुन्छ ।
राईका अनुसार केयूकेएलअन्तर्गत काठमाडौंमा एक लाख ८० हजार, ललितपुरमा ५६ हजार र भक्तपुरमा २० हजार धारा छन् । “उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी र सुन्दरीजल र अत्य स्रोत गरी थप दुई करोड लिटर पानी वितरण हुँदै आएको थियो । वर्षाले गर्दा मेलम्चीको पानी वितरण प्रभावित बनेको छ,” उनले भने ।
उपत्यकामा खानेपानीको माग दैनिक ४७ करोड लिटर रहेको केयूकेएलले जनाएको छ ।