
काठमाडौं । अस्ट्रेलियामा सत्तारुढ पार्टीलाई दोस्रो कार्यकाल लड्न सजिलो हुँदैन । यसले तीव्र जन असन्तोषको सामना गर्नुपर्छ । तर सत्तारुढ लेबर पार्टीका नेता एन्थनी अल्बानिजले अस्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा भारी बहुमतले निर्वाचित भएर सबैलाई छक्क पारेका छन् ।
आधिकारिक मतपरिणाम आउन अझै केही दिनसम्म लाग्ने भएपनि मध्य–वामपन्थी सरकारले रुढिवादी लिबरल–नेसनल गठबन्धनलाई नराम्रो हार चखाएर नाटकीय जित निकालेको बीबीसीले जनाएको छ ।
विगत २४ वर्षे जित्दै आएको आफ्नो सिट समेत हारेका विपक्षी गठबन्धनका नेता पिटर डटनले आफ्नो पार्टीको हार स्विकार्दै यसको पूर्ण जिम्मेवारी लिँदै आफ्ना सांसदहरूसँग माफी मागेका छन् ।
अस्ट्रेलियामा जीवनयापनको खर्च, स्वास्थ्य सेवा र आवासको समस्या जस्ता मुद्दाहरूले पाँच हप्ताको चुनावी अभियानलाई प्रभावित गरेको थियो । तर डोनाल्ड ट्रम्पसँग कसरी व्यवहार गर्ने भन्ने अन्तर्राष्ट्रिय सम्बन्धको विषय पनि अस्ट्रेलियामा चुनावी मुद्दा बनेको थियो ।
डटनले सुरुमा उठाएको अस्ट्रलियालीहरूको दैनिक जीवनयापनको समस्याका कारण प्रधानमन्त्री अल्बानिजमाथि अग्रता लिएको देखिएको थियो । तर चुनावी अभियान बढ्दै जाँदा यो अग्रता गायबव भयो र अन्ततः उनको अपमानजनक पराजय भयो ।
मतदातालाई आश्वस्त गर्न नसकेको असहज चुनावी अभियान यसको लागि आंशिक रूपमा जिम्मेवार थियो । तर ट्रम्प प्रभावले ठूलो भूमिका खेलेकोमा कुनै शंका छैन ।
डटन धेरैका लागि अस्ट्रेलियाको ट्रम्प नै थिए जुन अस्ट्रेलियालीहरूले चाहेको देखिएनन् । उनको कडा रुढीवाद, शरणार्थीहरूलाई विदेशी नजरबन्द केन्द्र पठाउनेजस्ता विवादास्पद आप्रवास नीतिको योजना र चीनप्रति तीव्र आलोचना गर्नुले डोनाल्ड ट्रम्पसँगको उनको तुलना गरायो ।
डटनलाई धेरैले अस्ट्रेलियाको ट्रम्पको रूपमा हेरेका थिए । उनले आप्रवास सार्वजनिक क्षेत्रको खर्च कटौती र चीनसँगका नीतिलगायत विषयमा ट्रम्प प्रशासनसँग गरिएको तुलनालाई अस्वीकार गर्ने प्रयास गरे पनि आखिरमा यसले मतदातामा नराम्रो प्रभाव पारेको देखियो ।
पूर्वप्रधानमन्त्री म्याल्कम टर्नबुलले बीबीसीसँग भने, “डटनले धेरै ट्रम्प–शैलीको अभियान चलाए र अस्ट्रेलियालीहरूले विपक्षी लिबरल–नेसनलमा अमेरिकी राष्ट्रपति मनोवृत्ति देखे जसले ठूलो प्रभाव पार्यो ।”
पछिल्लो २० वर्षमा अस्ट्रेलियामा दोस्रो कार्यकालका लागि कुनै पनि पार्टीले प्राप्त गरेको यो दुर्लभ उपलब्धि मानिएको छ । अल्बानिज लगातार दोस्रोपटक चुनाव जित्ने पहिलो प्रधानमन्त्री बनेका छन् ।
अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी)को अनुमान अनुसार सत्तारुढ लेबर पार्टीले ८६ सिट, विपक्षी गठबन्धनले ४० र ग्रिन्स पार्टीले १–२ सिट जित्ने देखिन्छ । अन्य साना पार्टीहरू र स्वतन्त्र उम्मेदवारहरू नौ सिटमा अगाडि छन् ।
शनिबार रातिको विजय भाषणमा प्रधानमन्त्री अल्बानिजले चुनावका प्रमुख मुद्दाहरू आप्रवास, जलवायु परिवर्तन र ऊर्जा भएको भन्दै सम्बोधन गरे ।
उनले स्वास्थ्य सेवा सस्तो बनाउने, धेरै अस्ट्रेलियालीहरूले घर किन्न सक्ने बनाउने र जलवायु परिवर्तन र वातावरण संरक्षणमा थप पहल गर्ने वाचा दोहोर्याए ।
चुनावी नतिजा आएपछि यूकेका प्रधानमन्त्री सर किएर स्टार्मर र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अस्ट्रेलियासँग आफ्नो द्विपक्षीय सम्बन्ध अझ उन्नत बनाउने आशा व्यक्त गरेका छन् ।